१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

शालिक संवाद र एकथुंगा फूल !


-रामशरण प्याकुरेल

सघन अनुभूती मनमा लिएर
तिम्रो अगाडी बिनम्र र विनित छु,
निशब्द, ठिङ्ग उभिएका छौ तिमी
तर, तिम्रो शालिक अगाडी उभिएर,
तिमीसंग सम्बाद गर्न यो मन व्याकुल छ,
चहक छोपिएको, तिम्रो मलिन अनुहार सुम्सुम्याउँदै
म भने,
जीवन आहुती दिनु, मर्नु र बाँच्नुको फरक परिभाषा खोजिरहेको छु,
शहिद, तिमीलाई सम्मानको एक थुंगा फूल चढाउँदैछु I

मेरा अगाडी छन् शालिकहरु, पछाडी छन् शालिकहरु
शालिकहरु छन् मनहरुमा पनि,
तर कतै र कसैका लागि त तिमी शालिकमा समेत छैनौ,
विश्वास नगर,
तिम्रा समकालीन र संगै कसम खाएका सहोदरहरूले
आज,
तिमीले बगाएको रगतको गुन सम्झे होलान्, कसम खाए होलान्,
शालिक अगाडी उभिएर तिम्रो बन्दना गरे होलान्, मुट्ठी कसे होलान्
बरु, तिमी शहिद हुनु र उनीहरु ज्युँदै रहनुको एकात्मकताको
अलिकति पनि लाज बिर्सिएर,
उनीहरु, श्रद्धाञ्जलीका चाप्लुसी शव्दमात्र खर्चिरहेका छन्,
म भने,
बोली र व्यवहारको खाडलवीच, शहिदको शब्द र कर्मको फरक परिभाषा खोजिरहेको छु,
शहिद, तिमीलाई सम्मानको एक थुंगा फूल चढाउँदैछु I

तिम्रा सहोदरहरूको,
शरीर एउटाको, मन एउटाको, मष्तिस्क अर्कैको,
अरुको अनुमोदनमामात्र टिकाउन खोजेको हाम्रो स्वतन्त्रता र सार्वभौमिकताको वारेश बनेर,
जनताले गरेको विश्वासमा चोट बाँडेर, सत्ताको ग्लामरस चमकमा झुम्मिदै
ज्यानै फाल्ने जुक्तिमा लागिरहेका छन्,
अनुभूती नै नभएको अभिनय गरिरहेका छन् तिम्रा साथीहरु,
र, त चिताका अगाडी, आर्यघाटमा पनि हाँसीरहेका छन् I
म भने,
उदारमना सहादत र अटल विश्वासको, हराउँदै गरेका तिम्रो सपनाहरु खोजिरहेको छु,
शहिद, तिमीलाई सम्मानको एक थुंगा फूल चढाउँदैछु I

आजै एकपटक,
तिम्रा सहोदरहरुलाई सोध्ने हो कि ?
त्यति बेलाका चाक्ला मनहरु अहिले किन सांघुरिए होलान् ?
त्यो वर्गीय संवेदनशीलता, चिन्नै नसकिने गरी किन मासिन लागे होलान् ?
उनीहरुको आफ्नै देब्रे हातले के गरिरहेको छ, दाहिनेले थाहा नपाउने
अतिक्रमित सोच र व्यबहारमा लिप्त भएर
प्रकारान्तरमा किन दास बन्दैछन् उनीहरु ?
म भने,
तिम्रो शालीनता र आस्थाको उंचाई, केवल शालिकमा मात्र नखोजेर जीवन र देशको माटोमा खोजिरहेको छु,
शहिद, तिमीलाई सम्मानको एक थुंगा फूल चढाउँदैछु I

माघ १६, २०७२
नेपालगंज

 

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार २२:४९