१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

प्रहरी नै अधिकारको दुरुपयोगमा लागेको भन्दै सांसद ओली राष्ट्रियसभामा कड्किइन


१४ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद कोमल ओलीले नेपाल प्रहरीले अधिकारको दुरुपयोग गरी अनुसन्धानका नाममा गायिका आस्था राउतलाई कारवाही अगाडि बढाएको आरोप लगाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले जिल्ला प्रशासन कार्यालय अर्धन्यायिक निकाय भएको हुँदा अनुसन्धान नै नगरी चार दिन थुन्ने आदेश गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

“फौजदारी न्यायको सिद्धान्तले पहिले सुन्ने अनि थुन्ने भन्छ”, सांसद ओलीले भन्नुभयो, “गैरकानूनी कार्य गरेको छ कि भन्ने कुरा हेरिनुपर्छ, सामान्य भनाभनको विषय मात्र थियो, बिना अनुसन्धान प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको छ ।”

नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले छिमेकी देश चीनमा कोरोना भाइरस फैलिरहेको हुँदा विशेष सावधान अपनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नेकपाका सांसद बलराम बाँस्कोटाले वैज्ञानिक भूमि सुधार र भूमि व्यवस्थापन गर्ने नेकपाको चुनावी घोषणापत्रको कार्यान्वयन कहाँसम्म पुग्यो ? भन्ने प्रश्न गर्नुभयो ।

सोही पार्टीका सांसद कमलाकुमारी ओलीले उद्योग मन्त्रालयले ‘एक पालिका एक औद्योगिक ग्राम’को अवधारणा अगाडि बढाइरहेको अवस्थामा बढीभन्दा बढी महिलालाई सहभागी गराउन माग गर्नुभयो । राष्ट्रिय जनता पार्टीका सांसद वृषेशचन्द्र लालले लोकतान्त्रिक संसदीय अभ्यासमा सरकार गम्भीर नभएको र संसद्मा उठेका प्रश्नको उत्तर नदिएको आरोप लगाउनुभयो ।

नेकपाका सांसद जीवन बुढाले स्थानीय सरकारसँग विकास गर्ने गुरुयोजना नभएको हुँदा सङ्घीय र प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस धनकुमारी खतिवडाले वार्षिक रु १० अर्ब कृषि अनुदानका लागि छुट्टयाइएको भएपनि लक्षित साना किसानसम्म पुग्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १४:३०