८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बलात्कार गरेर फरार रहेका अहेव टोक बहादुर सुस्लिङ १० दिनपछि पक्राउ


१४ माघ, कावासोती । एक महिलालाई  जवरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका अहेव पक्राउ परेका छन् । बलात्कारको अभियोगमा मुद्दा चलाइएका बुलिङटार –४ अर्खला स्वास्थ्य चौंकीमा कार्यरत छैठौ तहका अहेव टोक बहादुर सुस्लिङलाई आइतवार जिल्ला प्रहरी कार्यालय कावासोतीको टोलीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय कावासोतीका प्रहरी उपरिक्षक मोहनप्रसाद पोखरेलका अनुसार घटना घटेको १० दिन पछि सुस्लिङ पक्राउ परेका हुन् । माघ २ गते साँझ ४० बर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । प्रहरीले पक्राउ परेका अहेवलाई जिल्ला अदालतबाट ५ दिनको थुनामा राखी अनुसन्धान गर्ने गरी म्याद लिएको र घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीले सरकारी कर्मचारी भएकाले जिल्ला स्वास्थ्य कार्यालय नवलपुरलाई अभियोग बारे पत्राचार गरिसकेको जनाएको छ । नैतिक पतन देखिने काम भएकाले त्यस्ता कर्मचारीलाई कडा कारबाही हुनुपर्ने महिला अगुवा लिला भण्डारीले बताइन् । गाउँमा पहिला –पहिला पनि यस्ता घटना घट्दा गाउँले बसेर मिलापत्र गर्न जनपतिनिधिहरुले दवाव दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको भन्दै स्थानीयबासीले टोकबहादुर सुस्लिङलाई पक्राउ गर्न प्रहरीलाई दवाव दिएका थिए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १०:५३