८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ए डिभिजन लिग : हिमालयन शेर्पा-सरस्वती तथा जावलाखेल-आर्मी भिड्दै


१४ माघ, काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (मंगलबार) दुई खेल हुँदै छन् । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

बिहान साढे ११ बजे हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दिउँसो ३ बजेबाट सुरु हुने दोस्रो खेल जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

जारी लिगमा १ अंक मात्र जोडेर रेलिगेसन जोनमा रहेको सरस्वतीले अहिलेसम्म जितको स्वाद चाख्न पाएको छैन । शीर्ष डिभिजनमा उक्लिने सम्भावना जीवित राख्न पनि सरस्वतीलाई आजको खेलमा जित्नैपर्ने दबाब छ ।

लिगमा ७ अंक जोडेको हिमालयन शेर्पा पनि आजको खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रिनेछ ।

यता शीर्ष स्थानको मच्छिन्द्रभन्दा आर्मी २ अंकले पछाडि छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन: शीर्ष स्थानमा उक्लने अवसर छ । जाउलाखेल भने आर्मीविरुद्ध जित आत्मसात् गर्दै चौथो स्थानमा उक्लिने दाउमा छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०७:४५