८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन काम अघि बढाउँदै संयुक्त कार्यदल


१४ माघ, काठमाडौं । दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको काम अघि बढाइने भएको छ । पाइपलाइन निर्माणका लागि भारत सहमत भएपछि विभिन्न चरणमा छलफल सुरु भएको हो ।

नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपले पाइपलाइन सम्बन्धमा दुई चरणमा छलफल गरिसकेको छ । पहिलो छलफल भारतमा पुस २७ र २८ गते भएको थियो भने दोस्रो छलफल काठमाडौँमा यसैसाता सम्पन्न भएको खबर गोरखापत्र दैनिकमा छ ।

दुई चरणको छलफलपश्चात् भारतको सिलिगुडीदेखि पूर्वी नेपालको झापासम्म पाइपलाइन ल्याउन भारत सहमत भएको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ज्वाइन्ट वर्किङ ग्रुपको काठमाडौँमा सम्पन्न सचिवस्तरीय बैठकमा यो सहमति भएको हो । निर्माणको मोडालिटी भने फाइनल भइनसकेको उनको भनाइ छ । उनले भने, “दोस्रो अन्तरदेशीय पाइपलाइन निर्माणका लागि भारत सहमत छ, हामी पनि सहमत छौं, निर्माणको मोडालिटीबारे थप छलफल भएपछि डीपीआर तयार गर्नतिर लाग्छौँ, हामी छिट्टै कामको टुंगोमा पुग्छौं ।”

पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन ल्याइनेछ । जसको दूरी करिब ३७ किमि हुनेछ । पाइपलाइनको सम्भाव्यता अध्ययन गर्न निगमले इन्डियन आयल कर्पोरेसनसमक्ष एक महिनाभित्र लिखित प्रस्ताव पेस गर्नेछ । पहिलो चरणमा पाइपलाइन सिलगढीबाट झापाको चारआलीसम्म ल्याइनेछ ।

दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन (मोतियारी–अमलेखगञ्ज) गत भदौबाट सञ्चालनमा आएको थियो । पौडेलको अनुसार मोतियारी–अमलेखगञ्ज पाइपलाइन पल्टिपल प्रोडक्ट पाइपलाइन हो ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०६:५२