८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

शहीद स्मारक लिगः मच्छिन्द्र लिगको शीर्ष स्थानमा


१३ माघ, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो ।

मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गर्नुभयो । खेलको ३८औँ मिनेटमा रेजिनले गोल गर्नुभएको हो । पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल गर्याे । मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गर्नुभएको हो ।

जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ । मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ । लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार १८:४२