८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१३ माघ, काठमाडौं । हवाई इन्धन ढुवानी गर्ने चालकले ट्याङ्करको चाबी पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घलाई बुझाएका छन् । शनिबारदेखि ढुवानी रोकेका चालकले आइतबार १८१ ट्याङ्करको चाबी महासङ्घलाई बुझाएका हुन् ।

भारतबाट ल्याउने र आन्तरिक बजारमा हुने हवाई इन्धनको आपूर्ति दुई दिनदेखि रोकिएको छ । चालकले ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको सीमा हटाउनुका साथै, तोकिएको मापदण्डभन्दा बढी नोक्सानी भए दोब्बर तिर्नुपर्ने व्यवस्था पनि रोकिनुपर्ने माग गरेको खबर गोरखापत्र दैनिकमा छ । उक्त माग पूरा नभए काम गर्न नसकिने उनीहरूको भनाइ छ । निगम र ट्याङ्कर साहुको दोहोरो चेपुवामा आफूहरूको परेको चालकहरूको गुनासो छ ।

चालक एवं नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन हवाई इन्धन ढुवानी एकाइ कमिटी अध्यक्ष पशुपति पाठक– निगमले डबल जरिवाना तिराउँछ त्यो पैसा साहुले हाम्रो तलबबाट काट्छ, टेम्प्रेचर घट्छ अनि कारबाहीमा हामी पर्नुपर्ने, हामी बालबच्चा पाल्न हिँडेका हौँ हजुर, निगम पाल्न होइन,  भन्छन् ।

निगमले प्राविधिक नोक्सानीका लागि तापक्रम (टेम्प्रेचर) अनुसार मापदण्ड तोकेको छ । एक डिग्री बराबर १५ लिटरको व्यवस्था गरिएको छ । पाठक भन्छन्, ‘जस्तो रक्सौलमा हवाई इन्धन भर्दा २५ डिग्री तामक्रम छ र काठमाडौँ आएर नाप्दा २० डिग्री भयो भने ५ डिग्रीको फरक आयो, पाँच इन्टु १५ गर्नुस् त्यसो गर्दा ७५ लिटर लस भयो तर निगमले ५० लिटरभन्दा माथि घट्यो भने मूल्यको डबल जरिवाना लिन्छ । यो जरिवाना हाम्रो तलबबाट साहुले काट्छ ।’

चालकले इन्धन बढी नोक्सानी हुनुमा निगम पनि दोषी रहेको बताउँछन् । पाठकका अनुसार रक्सौलमा लोड गर्दा प्रत्येक गाडीमा जानाजानी करिब २० लिटरजति कम भरिदिन्छ । लोड भएका ट्याङ्कर बीच बाटोमै कहिलेकाहीँ पाँच सात दिन बस्नुपर्ने हुन्छ । निगम आफैँले भण्डारण फुल हुँदा ट्याङ्करलाई बाटोमै राख्ने गरेको छ । ‘तर नोक्सानीचाहिँ हामी मजदुरलाई किन तिराउने ? डबल काट्ने व्यवस्था हटाउनु पर्‍यो अनि मात्र काम गर्छौं,’ पाठकको भनाइ छ ।

निगमले एकल ताला प्रणाली लागू गरेपछि चालकसँग ट्याङ्कीको चाबी हुँदैन । पाठक भन्छन्, ‘निगमकै प्रतिनिधिसँग चाबी हुन्छ, उहाँहरूले खोल्ने हो । उहाँहरूले ट्याङ्कर भर्ने हो र रिसिभ गर्ने बेलामा पनि उहाँहरूकै चाबीले खोल्ने हो चाबी उहाँहरूसँग हुने जरिवाना हामीले तिर्नुपर्ने ।’ ट्याङ्कर चालकले ९ बुँदे माग राखेर ध्यानाकर्षण गर्दै आएका थिए । नौ बुँदे मागमध्ये आठवटा सम्बोधन भएको तर प्राविधिक नोक्सानीको माग सम्बोधन भएको छैन । महासङ्घका अध्यक्ष खगेश्वर बाहोरा भन्छन्, ‘पचास लिटरभन्दा बढी टेम्प्रेचर लस भए डबल जरिवाना तिर्नुपर्ने प्रावधानविरुद्ध चालकले गरेको विरोध हो, यसलाई डबल नगर्ने हो भने पनि समाधान हुनसक्छ ।’

मागप्रति छलफल भइरहेको निगमले जनाएको छ तर तत्काल डबल जरिवानाको प्रावधान हटाउन नसकिने निगमले बताएको छ । प्रवक्ता वीरेन्द्र गोइत भन्छन्, ‘अत्यावश्यक वस्तुमा हड्ताल गरेर ढुवानी बन्द गर्न पाइँदैन त्यसमा पनि अन्तर्राष्ट्रिय हवाई उडानमा सीधै प्रभावित हुने भएकाले यो अति संवेदनशील सवाल हो, समस्या भए वार्तामार्फत समाधान गर्न सकिन्छ तर तत्काल नियम परिवर्तन गर्ने पक्षमा निगम छैन, काम सुचारु गर्न निगमले पहल गरिरहेको छ ।’

तर एक साता ढुवानी बन्द भए अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् । निगमसँग हवाई इन्धनको भण्डारण जम्मा ५ हजार किलोलिटर मात्र छ । दैनिक पाँच सय किलोलिटर हवाई इन्धन खपत हुने गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०६:२७