७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

घट्यो दूरी, फेरियो जीवनशैली


१३ माघ, विराटनगर ।  विराटनगरबाट १० घण्टा लाग्ने भोजपुरको यात्रालाई सप्तकोसीमा सञ्चालित मोटरबोटले चार घण्टामा झारेको छ । सडकमार्ग हुँदै विराटनगर–इटहरी–धरान–धनकुटा हुँदै भोजपुर पुग्ने दूरीलाई सप्तकोसीको जल यातायातले २० किलोमिटरमा खुम्च्याइ दिइएको हो ।

सप्तकोसीमा व्यावसायिक जेटबोट सञ्चालन भएसँगै भोजपुर सदरमुकामदेखि दक्षिणवर्ती क्षेत्र हतुवागडी र आमचोक, रामप्रसाद गाउँपालिकासहितका गाउँपालिका सहजै तराईका जिल्लासँग जोडिएका छन् । सुनसरीको वराहक्षेत्र १, चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गमस्थल हलेदे सिम्लेसम्मको जल यातायातले स्थानीयको जीवनशैलीसमेत परिवर्तन भएको खबर गोरखापत्र दैनिकमा छ । यसैगरी उदपयुरको बेलका गाउँपालिकाका नागरिकलाई समेत जल यातायातले सहज बनाएको छ ।

विराटनगरबाट एक घण्टामा चतरा पुगेपछि १५ मिनेटमै भोजपुरको हतुवागडी हसनपुर (हलेदे) पुगिन्छ । हसनपुरदेखि २२ किलोमिटर दूरीमा घोडेटार पर्छ । विराटनगर–घोडेटारसम्मको यात्रालाई अढाइ घण्टामा पूरा गर्न सकिने भएपछि प्रदेश राजधानीसँग भोजपुरको दक्षिणवर्ती क्षेत्र सहजै जोडिन पुगेको हो ।

यसैगरी धनकुटाको शहीदभूमि गाउँपालिका सिम्ले क्षेत्रका स्थानीय पनि दुई घण्टामा विराटनगर आइपुग्ने अवस्था जेटबोट सञ्चालनपछि भएको छ । सदरमुकाम धनकुटा हुँदै आउँदा सात घण्टाको बाटोसमेत दुई घण्टामा पूरा हुने अवस्था आएको हो ।

हतुवागडी ९ का स्थानीय एवं पूर्व हसनपुर गाविसका अध्यक्ष भीम राईका अनुसार जेटबोट सञ्चालनपछि गाउँका उत्पादन तराईका बजारसम्म पठाउनसमेत सहज भएको छ । रोजगारी खोज्दै सहरमा झर्ने युवासमेत हलेदेमा होटल व्यवसाय सञ्चालन गर्न थालेका छन् ।

गाउँका खेतबारीमा समेत अहिले खेती सुरु गरिएको हतुवागडीमा अदुवा र अम्लिसोजस्ता नगदे बालीसँगै पशुपालनतर्फ आकर्षण बढ्दै गएको राई बताउनुहुन्छ । खेतीमै सुधार भइरहेको छ, अर्का स्थानीय मिलन राईले भन्नुभयो, भाडा केही महँगो भए पनि पहुँचमा जोड्ने मुख्य आधारले उत्पादनमा जोडिने अवसर सिर्जना गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०६:१८