१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भाइरस सङ्क्रमण नियन्त्रणका लागि थप स्वास्थ्यकर्मी पठाइयो


१२ माघ, काठमाडाैँ । चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपछि निधानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको अधिकारीहरूले जनाएका छन् ।

चीनमा कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा सङ्क्रमण भएको चीनले पुष्टि गरिसकेको छ । चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपछि स्वस्थ भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार एक पत्रकार सम्मेलनमा भन्नुभयो, “कोरोना भाइरसको सङ्क्रमित विरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ ।”

माले भन्नुभयो, “आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ ।” थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

आयोगका निर्देशक माले भने, “हुबेईको क्षेत्रीय सरकारले कोरोना भाइरसलाई नियन्त्रण गर्न १४ करोड ३० लाख अमेरिकी डलर बजेट विनियोजन गरेको छ भने औषधी, मास्क,पञ्जा, चश्माजस्ता सुरक्षा पोशाकलगायत उपकरणहरू पनि अस्पतालहरूको आवश्यकता अनुसार पठाएको छ ।”

यसैबीच चीनले आगामी २० दिनभित्रमा कोरोना भाइरसको सङ्मणलाई नियन्त्रणमा ल्याउन सकिने चीनका वरिष्ठ भाइरल रोग विशेषज्ञहरूले आइतबार बताएका छन् ।

चिनियाँ इन्जिनियरिङ एकेडेमीका सदस्य वेन युमेईले भन्नुभयो, भाइरस सङ्क्रमण रोक्न राज्यले चालेका सबै उपायका कारण रोगलाई आगामी २० दिनमा पूर्ण नियन्त्रणमा ल्याउन सकिनेमा हामी विश्वस्त छौँ ।

“मानव शरीर क्रमश जीबाणुसँग प्रतिरोध गर्न सक्ने अवस्थामा पुग्छ जसका कारण कोरोना भाइरस फैलिने क्रम अन्त्य गर्न सकिने छ,” साङ्घाईस्थित प्रमुख ‘मोलिकुलर भाइरोलोजी‘ प्रयोगशालाका प्राध्यापक वेनले बताउनुभयो । रासस

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार २३:३०