१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नेपालमा पनि कोरोना भाइरसकाे संक्रमण भेटिएपछि सतर्क रहन प्रधानमन्त्री ओलीको निर्देशन


१२ माघ, काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित बिरामी भेटिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् । कोरोना भाइरस फैलिन नदिन र संक्रमित बिरामीको उपचारको लागि आवश्यक तयारी गर्नप्रधानमन्त्री ओलीले  स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आइतबार स्वास्थ्य मन्त्रालयसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन र परराष्ट्र मन्त्रालयलाई समेत यसमा सर्तकर्ता अपनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरसको जोखिम, संक्रमितहरुको अवस्था र व्यवस्थापनका विषयमा स्वास्थ्यसचिव खगराज बरालसँग जानकारी लिँदै यो रोगको उपचारका लागि केन्द्रीय अस्पतालहरुलाई तयारी अवस्थामा राख्न समेत निर्देशन दिएका छन् ।

फाइल फाेटाे

चीनबाट नेपाल फर्किएका २ जना बिरामीमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनीहरुको स्वास्थ्य जाँच रिपोर्ट परीक्षणका लागि हङकङ पठाएको शुक्रराज ट्रपिकल अस्पताल काठमाडाैँले जनाएको छ ।

कोरोना भाइरसकाे नियन्त्रणका लागि शुक्रराज ट्रपिकल अस्पताल र छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा विशेष वार्डको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पतालमा आइसोलेसन वार्ड बनाएर ३ दिनभित्र योजना पेश गर्न निर्देशन समेत दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६ जना मृत्यु भएको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण बेइजिङ र सेन्जेन हुँदै जापान, थाइल्याण्ड र दक्षिण कोरिया, अस्ट्रेलिया अमेरिकासम्म फैलिएको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार १९:३१