८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मोतियाविन्दु मुक्त नगरपालिका बन्दै पाँचखाल


१२ माघ, काभ्रे । पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९३ सर्वसाधारणले स्वास्थ्य जाँच गराएका छन् ।

पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घको आयोजनामा शनिबार सम्पन्न भएको शिविरमा पाकिस्तानमा अध्ययन गरेर फर्किएका आठ चिकित्सकले सेवा प्रदान गरेका थिए । नेपालस्थित पाकिस्तानी राजदूत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तानमैत्री सांस्कृतिक सङ्घका अध्यक्ष हिमालयनशम्सेर राणाले संयुक्तरूपमा उद्घाटन गरे ।

युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल शाखा सञ्चालक कल्याण ढुङ्गानाले पाँचखाल ४ समाज कल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरी सेवा दिन थालेका हुन्‌ । नगरप्रमुख खरेलले केन्द्रको आरम्भ गर्दै विदेश तथा शहरमा रहेका युवा गाउँमा फर्केर व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए ।

समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले नगरपालिकाले मोतियाविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा उपचार केन्द्र स्थापना गरेर नगरलाई सहयोग पुग्ने बताए । नगर उपप्रमुख लक्ष्मी दनुवार र प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले स्वास्थ्य क्षेत्रमा नगरले प्राथमिकता दिएको उल्लेख गरे । –रासस

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०८:२३