८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कोदोको ढिँडोमा लठ्ठिन्छन्‌ पर्यटक


१२ माघ बागलुङ । ताराखोला गाउँपालिकाले घरबास पर्यटनलाई बढावा दिएको छ । २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको गाउँपालिकाले यही वर्ष गाउँपालिकाभित्र चार घरवास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

दुई घरवासमा गाउँपालिकाको आफ्नै लगानी छ । गत आवमा घरवास सञ्चालनका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट छुट्याएको थियो । विनियोजित रकमले वडा २ अर्गलमा ‘किकल्टा घरवास’ र वडा ५ ठूलोहिलेमा ‘हिले घरवास’ आरम्भ भएको थियो । अर्गलमा सात घर र ठूलो हिलेका पाँच घरमा घरवास सेवा छ ।

यस्तै गण्डकी प्रदेश सरकारको सहयोगमा वडा ४ छम्टुमा ‘ताराखोला बहुउद्देश्यीय सामुदायिक रेम्बो ट्राउट घरवास’ र वडा ५ मा ‘सीप सामुदायिक घरवास’ सञ्चालनमा ल्याइएको छ । दुवै घरवासका लागि प्रदेश सरकारले १० लाख रुपैयाँका दरले अनुदान दिएको थियो ।

गाउँपापालिकाको लगानीमा खुलेका दुई घरवासका लागि समेत यो वर्ष प्रदेश सरकारबाट अनुदान ल्याउन पहल भइरहेको छ । ‘गत वर्ष दुवै होमस्टेलाई पाँच/पाँच लाख अनुदान दियौँ, यो वर्ष स्तरोन्नतिका लागि केही बजेट छ’, गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले भने ।

गाउँपालिकाले सिकाइ र अनुभव आदानप्रदानका लागि अघिल्लो महिना घरवास सञ्चालकलाई अध्ययन भ्रमणसमेत गराएको थियो । स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र तनहुँको बन्दीपुर घरवासको भ्रमण गरिएको ‘किकल्टा घरवास’ सञ्चालक समिति कोषाध्यक्ष केशकुमारी घर्तीमगरले जानकारी दिए । ‘भ्रमणबाट धेरै कुरा सिकियो, घरवास कस्तो हुनुपर्छ, पाहुनाको सत्कार कसरी गर्ने भन्ने जानियो’, उनले भने । उनका अनुसार ‘किकल्टा’ घरवासमा आउने पाहुना/पर्यटकले स्थानीय खानाका परिकारसँगै र पारिवारिक बसाइँको आनन्द लिन्छन् । ‘कोदोको ढिँडो, मकै, आलु, स्थानीय कुखुराको मासु बढी रुचाउनुहुन्छ’, घर्तीमगरले भने । सादा खानाको १७० र मासुको २५० रुपैयाँ मूल्य तोकिएको छ । यस्तै बास बसेको २५० रुपैयाँ लाग्छ । पेय पदार्थ र अन्य परिकार खाँदा छुट्टै पैसा तिर्नुपर्छ ।

यस्तै वडा ४ छम्टुमा सञ्चालित सामुदायिक घरवासमा २२ पाहुना राख्ने क्षमता छ । ‘होमस्टेमा ट्राउट माछासहित स्थानीय खानाका परिकार खुवाउँछौँ’, घरवास सञ्चालक समिति अध्यक्ष पदम खत्रीले भने । गाउँले जनजीवन, खानपान, घुमफिर र संस्कृतिका हिसाबले ताराखोला धनी छ । ग्रामीण पर्यटनको विकास र प्रवर्द्धनका लागि घरवास कार्यक्रम प्रभावकारी मानिन्छ । ‘हामीकहाँ घरवास नै बढी उपयुक्त छ, भ्रमण वर्ष २०७७ लाई लक्षित गरी घरवासको क्षमता बढाउन लगानी थप्दैछौँ’, गाउँपालिकाका अध्यक्ष घर्तीमगरले भने । उनले भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य रहेको उल्लेख गरे ।

पर्यटन प्रवर्द्धन तथा भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले चालू आवमा ७० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । उक्त बजेट पर्यटनमैत्री पूर्वाधार निर्माण र प्रचारप्रसारमा खर्च गरिनेछ । सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवासको स्तरीकरणलगायत काम भइरहेको छ । पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटकीय पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ । ताराखोलामा पर्यटक भित्र्याउन घरवास कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ ।

घरवासले अन्य गन्तव्यस्थलको समेत उजागर हुनेछ । स्थानीय उत्पादनका हिसाबले पनि ताराखोला परिचित छ । यहाँको मुख्य उत्पादन आलु र भाँगो हो । यस्तै गाईघाटको झरना, डुडेलेलगायत दर्जनौँ पर्यटकीय गन्तव्यस्थल यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने पर्व, असारे मेलाजस्ता मौलिक संस्कृति र परम्परा ताराखोलामा जीवित छन् । बागलुङ सदरमुकामदेखि ५० किमी मोटरयात्रामा ताराखोला पुगिन्छ । –रासस

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०८:१४