१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सुदृढ बन्दै प्रदेश अस्पताल


१२ माघ, काठमाडौं । एक वर्ष पहिलेसम्म हेटौँडा अस्पतालमा दैनिक सय बिरामी आउन मुस्किल थियो । अस्पताल उपचारभन्दा पनि ‘रेफर सेन्टर’का रूपमा परिचित थियो ।

बिरामी हेटौँडा अस्पतालभन्दा भरतपुर र काठमाडौं जाने गर्थे । अस्पताल अस्पतालजस्तो थिएन । फोहोरले भरिएको थियो । मेडिकल सुपरिन्टेन्डेन्ट पदमा नियुक्त हुन कोही चिकित्सक पनि मान्दैनथे ।

सांकेतिक तस्बिर ।

अहिले हेटौँडा अस्पताल पहिलेजस्तो छैन । अहिले दैनिक ४ सय बिरामी आउने गरेका छन् । पछिल्लो समय सङ्घीयबाट प्रदेश सरकारलाई हस्तान्तरण भएका अस्पतालमा उपचारदेखि लिएर जनशक्ति, उपकरण र व्यवस्थापनसमेत सुदृढ र बलियो बन्दै गएको खबर गोरखापत्र दैनिकमा छ ।

हेटौंडा अस्पताल मात्र होइन, भक्तपुर अस्पताल, त्रिशूली अस्पताल, इलाम अस्पताललगायत प्रादेशिक अस्पताल बलियो बन्दै गएका छन् । प्रदेश सरकारले सुधारका कामको थालनी गरेसँगै अस्पतालमा आउने बिरामीको सङ्ख्यामा वृद्धि, जनशक्ति, भौतिक पूर्वाधार लगायत व्यवस्थापन पक्ष सबल बन्दै गएको छ ।

यस्तै प्रदेश १ को इलाम प्रादेशिक अस्पताल विगतमा दैनिक सय बिरामी आउँदैनथे । सङ्घबाट प्रदेश सरकारले अस्पताल लिइसकेपछि दैनिक ३ सय जति बिरामी आउने गरेका छन् ।

वागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशअन्तर्गत रहेका अस्पतालमा प्रदेश सरकारले सुधार गर्दै लगेको बताए । ‘सङ्घले हस्तान्तरण गर्नुभन्दा पहिले जिल्ला र प्रदेशका अस्पताल एउटा अस्पतालका रूपमा मात्र थिए । त्यहाँ राम्रोसँग उपचारको व्यवस्था गर्न कठिनाइ हुन्थ्यो । मानिसले विश्वास गर्दैनथे,’ उनले भने ।

यता गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले विगतका तुलनामा प्रदेशले लिएका अस्पताल उत्कृष्ट बन्दै गएको बताइन् । उनले प्रदेश अस्पतालप्रति जनताको विश्वास बढिरहेको बताइन् ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०६:५१