११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

सिएमसी चितवन प्रीमीयर लीगः माघ १७ गतेदेखि


१० माघ, चितवन । सिमएमसी चितवन प्रीमीयर लीग टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नारायणी एडर्भटाइजिङ एण्ड इभेन्ट्सको आयोजना र चितवन क्रिकेट संघ (क्याक)को सह–आयोजनामा पहिलोपटक सिएमसी चितवन प्रीमियर लीग हुन लागेको हो ।

नारायणगढस्थित क्याम्पाचौरमा यही माघ १७ गतेदेखि २५ गतेसम्म प्रतियोगिता हुने आयोजकले आज (बिहीबार) पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गैंडाकोटस्थित दि नारायणी रिसोर्टमा भएको पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधरीले चितवनको क्रिकेट विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

उनले चितवनमै क्रिकेट रंगशाला बनिरहेको अवस्थामा यस प्रतियोगिताले चितवनको क्रिकेट विकासलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले चितवनकै ठूलो क्रिकेट प्रतियोगिता रहेको भन्दै यसले यहाँका खेलाडीहरुलाई एक्सपोजरको राम्रो मौका दिने बताए । उनले भने–“यस प्रतियोगिताले युवाहरु खेलाडीहरुलाई राम्रो मौका प्रदान गरेको छ, यसले क्रिकेटको विकासका लागि महत्वपूर्ण खेल्नेमा विश्वस्त छु ।”

पत्रकार सम्मेलनमा बोल्दै चितवन क्रिकेट संघका अध्यक्ष कैलाश प्रधानले चितवनले धेरै राष्ट्रिय खेलाडी जन्माएको भन्दै यसले युवा खेलाडीहरुलाई थप मौका प्रदान गर्ने बताए । उनले क्रिकेट विकासकै लागि नारायणी एडर्भटाइजिङसंग सहकार्य गर्दै अघि बढेको बताए ।

यस्तै प्रतियोगिताको कोस्पोन्सर सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टर प्रा.लिका प्रवन्ध निर्देशक यज्ञविलास (वाईबी) पौडेलले यस प्रतियोगिताले चितवनमा क्रिकेटको माहोल विकास गर्ने बताए । उनले सेन्ट्रल कलेजले शिक्षासंगै खेलकुद क्षेत्रमा समेत हातेमाले गर्दै आइरहेको भन्दै सीपीएलसंग जोडिनु पाउनु सौभाग्य रहेको बताए । उनले सीपीएलको सफलताको शुभकामना व्यक्त गर्दै आगामि दिनमा थप खेलकुद क्षेत्रलाई थप सहयोग गर्दै जाने बताए । पत्रकार सम्मेलनमा प्रतियोगिताका स्पोन्सर टेस्ला एयर कण्डिसनका सुविवेक पराजुलीको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको लीग चरणका केही खेलहरु निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रहेको नमुना क्रिकेट खेल मैदानमा गर्ने तयारी गरिरहेको आयोजकले जनाएको छ । जसले गर्दा रंगशाला निर्माणका लागि थप सहयोग मिल्नेमा आयोजकले विश्वास व्यक्त गरेको छ । रंगशालाका लागि आयोजकले आर्थिक सहयोग समेत गर्ने जनाएको छ । पहिलो संस्करणको रुपमा आयोजना गर्न लागिएको यस प्रतियोगिताकोसम्पूर्ण तयारी तीव्र गतिमा भइरहेको इभेन्ट्सका प्रवन्ध निर्देशक चौधरीले बताए ।

प्रतियोगितामा चितवनका पाँच वटा टिमको सहभागिता रहेको छ । जसमा भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती ¥यापिड्स रहेका छन् । भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा रहेका छन् ।

यस प्रतियोगितामा सहभागि टिमहरुले दुई जना राष्ट्रिय खेलाडी (अन्डर १९) अनिवार्य र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्नेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ, ट्रफी, मेडल र उपविजेताले एक लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई म्यान अफ दि सिरिज, बेस्ट बलर, बेस्ट व्याट्सम्यान, बेस्ट अलराउण्डरको अवार्ड प्रदान गरिने छ । यस्तै प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ दि म्याचको ट्रफी प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबै भन्दा ठूलो व्यवसायिका लीग एभरेष्ट प्रीमियर लीग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।

यसैगरी प्रतियोगिताको सहयोगी संस्थाहरुको रुपमा नेपाल क्रिकेट संघ (क्यान), भरतपुर महानगरपालिका, चितवन टाइगर्स, नेपाल खेलकुद पत्रकार मञ्च चितवन (एनएसजेएफ), नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस), चितवन फ्लेक्स रहेका छन् । प्रतियोगिताका खेल राष्ट्रिय टेलिभिजन प्राइम टाइम्स टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार २१:४३