८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अग्नि सापकोटा सभामुख हुनअघि नै सर्वोच्च जानुपर्ने, अदालतले तोक्यो तारेख


१० माघ, काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका नेकपाका सांसद अग्नि सापकोटा आइतबार संसद जानुअघि सर्वोच्च जानुपर्ने भएको छ । सापकोटालाई १२ गते तारिखका लागि हाजिर हुन सर्वोच्च अदालतले पुर्जी काटेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै सर्वोच्च अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो । कांग्रेस नेता समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तब्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका थिए । सापकोटालाई गिरफ्तार गरी न्यायलयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले मागदाबी गरेका छन् ।

सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेका’ भनिएका लामाको २ महिना पछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो । लामाकी श्रीमती पूर्णमाया लामाले ७ मंसिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकताविरुद्ध मुद्दा दायर गरेकी थिइन् । सोसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार २२:३३