७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा केशवराज पाण्डे !


११ माघ, काठमाडौँ । वाग्मती प्रदेशको भौतिक पूर्वाधारद तथा विकास मन्त्रीबाट केशव स्थापित बर्खास्त भएपछि खाली रहेको मन्त्रालयको नेतृत्व नेकपाका युवा नेता समेत रहेका नुवाकोटका प्रदेश सांसद केशवराज पाण्डेले पाउने भएका छन । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैँले सम्हाल्दै आएको उक्त मन्त्रालयको जिम्मेवारी सांसद पाण्डेलाई दिन लागेका हुन ।

एक मन्त्रीसँगै केही राज्यमन्त्री पनि राख्ने चर्चा चलेपनि मुख्यमन्त्री पौडेल भने धेरै मन्त्री राख्ने पक्षमा देखिदैनन् । उनले केही साताभित्रै भौतिक पूर्वाधार विकास मन्त्रालयमा पाण्डेलाई नियुक्ति गर्नेछन । पौडेलले यसबारेमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत परामर्श गरिसेका छन । ओलीसँगको परामर्शकै आधारमा पौडेलले पाण्डेलाई मन्त्रीको जिम्मेवारी दिने तयारी गरेको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

फाइल फोटो ।

पाण्डे तत्कालीन नेकपा एमालेमा प्रधानमन्त्री ओली विदेश विभाग प्रमुख रहँदा सचिव रहेका थिए । लामो समयदेखि ओलीकै टिममा रहेका पाण्डे नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ क बाट निर्वाचित भएका थिए । उनले नुवाकोट कांग्रेसका सभापति जगदिश्वरनरसिंह केसीलाई भारी मतान्तरले पराजित गरेका हुन । राजधानी र नामको विषयले पूर्णता पाएसँगै प्रदेशको कामलाई प्रभावकारी रूपमा अघि बढाउन मुख्यमन्त्रीले सक्रियता बढाएका छन ।

केहीदिन यता प्रदेश संसदीय दलका मुख्य सचेतक रामेश्वर फूयाँल मन्त्री भनेर चर्चा गरिए पनि यो सम्भव नभएको र यस विषयमा मुख्यमन्त्रीले केही नसोचेको स्रोतले जनाएको छ । यद्यपी फूयाँलका शुभचिन्तकहरूले फूयाँल मन्त्रीमा नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा बधाइ दिइरहेका छन । नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले समेत सामाजिक सञ्जालमा शुक्रबार बिहान फूयाँललाई बधाई दिएका थिए यद्यपी उनले वास्तविक सूचना पाएपछि आफ्नो बधाई सन्देश फेसबुकबाट मेटाएका छन ।

पाण्डेले पछिल्लो पटक प्रदेशको नाम र राजधानी तोक्ने विषयमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पाण्डे तत्कालीन एमालेको अन्तिम महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए । पाण्डे मदन भण्डारी फाउण्डेसनमा समेत क्रियाशिल रहेका छन ।

 

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ११:४२