१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सरकारी अनुदान र निजी लगानीमा नुवाकोटमा अत्याधुनिक शित भण्डार, ३० हजार कृषकलाई सुविधा


१० माघ, नुवाकोट । सरकारी अनुदान र निजी लगानीमा नुवाकोटको विदुर नगरपालिका वडा नम्बर २ मा अत्याधुनिक सुविधा सम्पन्न शित भण्डार निर्माण भएको छ । झण्डै २० करोड रूपैयाँको लागतमा नुवाकोट शित भण्डार प्रा.लि.ले सरकारको अनुदान र अाफ्नो लगानीमा ६० लाख किलो क्षमता (६ हजार मेट्रिक टन) को कोल्ड स्टोरेज निर्माण गरेको हो । निर्माण सम्पन्न भएको र छिट्टै नै सञ्चालनमा ल्याउने तयारी भएको नुवाकोट शित भण्डार प्रा.लिका अध्यक्ष एवं नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा क का सांसद बद्री मौनालीले जानकारी दिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासँगको सहकार्यमा शित भण्डार निर्माण गरिएको मैनालीले बताए । उनले शित भण्डार सञ्चालनमा आए पश्चात नुवाकोट जिल्लाका ६ हजार घरधुरीका लगभग ३० हजार कृषक र कृषक समूहहरुबाट उत्पादित कृषिजन्य बस्तुकोे सहुलियत दरमा भण्डारण गर्न सक्ने बताए । उनले सम्झौता भन्दा अघिनै शितभण्डारको निर्माण सकिएको भन्दै खुशी व्यक्त गरे । सम्झौता अनुसार २०७७ साल असारसम्ममा निर्माण सकिनुपर्ने भएपनि ६ महिना अघि नै तयार भएको उनले बताए ।

उनले शित भण्डार निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरेको समयमा केही सञ्चारमाध्यमले गलत समाचार लेखेर जनतालाई भ्रमित पार्न खोजेको भन्दै दुःख प्रकट गरे । शुक्रबार एक विज्ञप्ति नै प्रकाशित गरी उनले शित भण्डार र त्यसले पाएको अनुदानको विषयमा स्पष्ट पारेका छन । मैनालीले जारी गरेको विज्ञप्ति तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार २०:३०