१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भलिबल क्लब च्याम्पियनसीपः पुरुष र महिलातर्फ आर्मी तेस्रो


१० माघ, काडमाडौँ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा पुरुष र महिलातर्फ तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा तेस्रो स्थानका लागि आज भएको खेलमा आर्मीले पुरुष र महिला दुवैमा नेपाल पुलिस क्लबलाई ३–० सेटले हराएको हो । पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब २५–१८, २५–१८ र २५–२० अङ्कले तथा महिला भलिबलमा २५–२२, २५–१३ र २५–२१ अङ्कले विजयी भएको हो । जितसँगै आर्मीले दुवै स्पर्धामा रु ५० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगिताको पुरुष र महिलातर्फको फाइनल खेल केहीबेरमा हुँदैछ । पुरुषतर्फ एपीएफ क्लब र हेल्प नेपाल तथा महिलातर्फ एपीएफ क्लब र न्यू डायमण्ड क्लबबीच उपाधिका लागि खेल हुँदैछ । महिला र पुरुष दुवै विधाको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही रु २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १७:११