१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमसीसी संसदबाट अनुमोदन गरे राष्ट्रघात हुन्छ, यसविरूद्ध चट्टान बन्न तयार छुः नेता रावल


१० माघ, डोटी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले एमसीसी अर्थात् ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ संसदबाट पास गरे राष्ट्र घातक हुने बताउनुभएको छ । नेता रावलले एमसीसी पास गरेको खण्डमा देशलाई नै घाटा हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘एमसीसीको सम्झौतापत्रमा उल्लेख भएका कुरा नपढी कयौं नेताहरूले पास गरौं भन्दै छन्, एकचोटी सम्झौता पढ्नुस् सही गलत आफै  छुट्टिनेछ।’

राष्ट्र र राष्ट्रियताका सवालमा  एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय रुपमा चर्चाको विषयसमेत बनेकाले एमसीसी अर्थात् ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’लाई कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ। राष्ट्र र राष्ट्रियताको हितमा घातक हुने कुनै पनि सम्झौता गर्न नहुँने बताउँदै नेता रावलले थप भन्नुभयो– ‘हामी नागरिकका सेवक हौं, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने?’ एमसीसी संसदवाट कुनै पनि हालतमा पास हुन नदिने तथा सधैं त्यसको विरोधमा चट्टान बन्नेसमेत नेता रावलले दाबी गर्नुभयो।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता रावलले डोटी आफैमा सुन्दरताले भरिपूर्ण प्राकृतिक ठाउँ भएको र यहाँका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको प्रचार प्रसार गर्न सके यहाँको पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडिकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीयस्थल खप्तडको प्रचार प्रसार गर्न सके हजारौं पर्यटक भित्रयाउन सक्छ, जसले यहाँको पर्यटन विकास आफै हुनेछ।’ सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले सुदूरपश्चिमको पर्यटन विकासका लागि प्रदेश मन्त्रालय सदैव अग्रसर रहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘सुदूरपश्चिममा रहेका कला संस्कृति, विभिन्न पर्यटन तथा धार्मिकस्थलहरूको विकास र प्रचारप्रसारका लागि प्रदेश मन्त्रालय लागिपरेको छ, हामीसँग अथाह पर्यटन क्षेत्र छन्, सबैले त्यसको प्रचार गर्न जरुरी छ।’ उहाँले भन्नुभयो– ‘हामी पर्यटन क्षेत्रको विकासका लागि अहोरात्र खटिएका छौं, यहाँका पर्यटकीय क्षेत्रको बारेमा देश विदेशमा चिनाउने छौं।’ उक्त कार्यक्रममा जिल्लाभरिमा रहेका पुराना कला संस्कृति झल्किने खालका डेउडा, हुड्के, छलिया, गमरा, भुवाँलगायतका कला सस्कृतिहरू प्रस्तुत गरिएका थिए।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १०:५९