८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कान्तिमा महिनौं कुरेपछि मात्र पालो !


१० माघ, काठमाडौं । पत्थरीको समस्याले आठ वर्षीय छोरा ऐया र आत्थु गर्न थालेपछि दाङका शिशिर गौतम रातारात कान्ति बाल अस्पताल आइपुगे । स्थानीय नेताले आफूसँग परिचित सो अस्पतालका एक चिकित्सकलाई दाङबाटै फोन गरी ‘राम्ररी उपचार गरिदिन’ भनेका थिए । तिनै नेताकै सिफारिसमा शिशिर सीधै कान्ति बाल अस्पतालका ती चिकित्सकको सम्पर्कमा पुगे । ती चिकित्सकले सो अस्पतालमा शल्यक्रिया गर्न महिनौँ पर्खिनुपर्ने हुनसक्छ भन्दै नजिकको एक अस्पतालमा गए सोही दिन शल्यक्रियाको प्रबन्ध गरिदिने बताए ।

घर फर्किनुअघि ती चिकित्सकसँग परामर्श गर्न सोही अस्पतालमा आइपुगेका शिशिरले महिनौँ पर्खिनुभन्दा त्यसै दिन ‘अप्रेसन’ हुने भनेपछि मैले सहमति दिए । त्यसैदिन साँझ अप्रेसन गरी मिर्गौलाको पत्थरी फालियो । उनका अनुसार नजिकैको निजी बाल अस्पतालमा छोराको शल्यक्रिया गरिएको थियो ।

औषधि र शय्याबाहेक शल्यक्रियाका लागि मात्र ५० हजार रुपैयाँ उतिखेरै उनले निजी बाल अस्पताललाई बुझाउनुपर्‍यो । शिशिर आर्थिक रूपमा सबल थिए । त्यसैले छोराको पीडा देख्न नसकी अस्पतालले मागे जति रकम तत्कालै बुझाए ।

उता सिरहाका सन्तोष मण्डलले साढे दुई वर्षका छोराको पीडा देख्दादेख्दै पनि आर्थिक अभावले शल्यक्रियाका लागि आठ महिना पर्खिनुपर्‍यो । मलद्वारको संरचना नभएका ती बालकको उपचार गराउन गत वैशाखमा सन्तोष कान्ति बाल अस्पताल आएका थिए । चिकित्सकले शल्यक्रियाका लागि माघ १ गते समय दिए । त्यतिन्जेल काम चलाउन चिकित्सकले कोखामा सानो प्वाल बनाइदिएका थिए, त्यहीँबाट दिसा निस्कन्थ्यो ।

सन्तोषका छोराले आठ महिना पीडा भोग्नुपर्‍यो । अप्रेसनका लागि धेरै मानिस छन् त्यसैले पालो पर्खिनुपर्छ भनेर वैशाखमा डाक्टरले भनेका थिए । रकम अभावले निजी अस्पतालमा लिएर जानसक्ने स्थिति थिएन । आठ महिनापछि छोराको अप्रेसन भयो । चार घण्टाको अप्रेसनपछि छोराले अब मलद्वारबाटै दिसा गर्ने भएको उनले बताए ।

मुलुककै एक मात्र सरकारी बाल अस्पतालका रूपमा रहेको कान्ति बाल अस्पतालमा बिरामी बालबालिकाको ओइरो दैनिक हुने गर्छ । अस्पतालले धान्न मुस्किल मुस्किल हुँदै गएको छ । समयमा शल्यक्रिया नगरिदिनु, सघन उपचार कक्षमा पर्याप्त शय्या नहुनु, हाडजोर्नी र मुटु सम्बन्धी उपचार नै नहुनु लगायतका कारणले सो बाल अस्पताल वरपर रहेका अन्य दुई निजी अस्पताल फस्टाउँदै गएका छन् । कान्ति अस्पतालको सम्मुखमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सबै बिरामीलाई उपचार सेवा प्रदान गर्न नसक्दा महाराजगञ्ज वरपर थुप्रै अस्पताल खुलेका छन् ।

गर्भमा रहेको सात महिनामै जन्मिएका कारण कमजोर बनेकी छोरीलाई लिएर चितवनका सञ्जय चौधरी सीधै कान्ति बाल अस्पताल पुगे । भर्ना हुन शय्या नपाएपछि निजी अस्पतालमा जानुपर्‍यो । शय्या खाली भएपछि उनी निजीबाट कान्ति अस्पताल पुन: आए । एक महिनाको अस्पताल बसाइपछि बिहीबार ‘डिस्चार्ज’ हुन लागेका उनले प्रयोगशालामा सधैँ मेसिन बिग्रिएको मात्र जवाफ पाइन्छ । नियमित मर्मत सम्भार छैन । डाक्टर र नर्समा सरकारी कर्मचारी हौँ भन्ने सोच रहेको बताए ।

अस्पतालमा हाडजोर्नीका चिकित्सक छैनन् न त हाडजोर्नी विभाग नै छ । हाड जोर्नीसम्बन्धी समस्या लिएर थुप्रै बालबालिका उपचारका लागि आउने गरे पनि उपचार पाउँदैनन्, उपचार बिना फर्किन्छन् । मुटु सम्बन्धी विभाग त छ तर एक जना पनि चिकित्सक छैनन् । आँखा, नाक, कान र घाँटीको सेवा भर्खरै मात्र सुरु भएको छ । सघन उपचार कक्ष (आईसीयू)मा ३२ वटा शय्या छन् । आईसीयूमा भर्ना पाउन मन्त्री सम्मको दबाब अस्पतालका कर्मचारीले व्यहोर्दै आएको खबर गोरखापत्र दैनिकमा छ ।

सरसफाइमा ठूलो समस्या छ । निकासको समस्याले मुख्य भवनका शौचालय बन्द छन् । धारामा आउने पानीमा हिलो मिसिएको छ । एउटा मात्र शल्यक्रिया कक्ष (अप्रेसन थिएटर) भएकाले शल्यक्रियाका लागि पालो पाउन महिनौँ कुर्नुपर्ने समस्या छ । एक्सरे मेसिन र सीटी स्क्यान उपकरण निकै पुराना भइसकेका छन् । कुरुवा घर भए पनि अधिकांश कुरुवा त्यहाँ बस्दैनन् ।

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०७:०५