Logo

सुन्नै मुस्किल हुटिट्याउँको ट्याउँ ट्याउँ, घटे फिरन्ते चरा



१० माघ, पोखरा तालैतालको सहर हो पोखरा । यहाँका नौ वटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदी लगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् ।

पर्याप्त जलाशयका कारण उक्त क्षेत्र चराचुरुङ्गीको रोजाइमा पर्छ । पछिल्ला वर्षमा पोखरा र आसपासमा चरा हेर्न पर्यटक आउनेक्रम वर्षेनी बढ्दो छ । विगतमा निकै पाइने चराचुरुङ्गी वर्षेनी घट्दै जानु चासो र चिन्ताको विषय बनेको छ ।

विशेषतः जाडो छल्न चीन, मङ्गोलिया, साइबेरियालगायतका स्थानबाट आउने हिउँदे चरा घट्दै गएको अनुसन्धानले देखाएको छ । पोखराको फेवासहित यहाँका बेगनास, रुपा, खास्टे, कमलपोखरी, गुदे, निउरेनी, दिपाङ र मैदीतालमा अचेल पाहुना चरा आउनेक्रम घटेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताए । जलपक्षी गणनामा पाहुँना चराको सङ्ख्या न्यून पाइएको छ । सिमसार र आसपासका क्षेत्रमा विचरण तथा प्रजनन गर्ने चराका प्रजाति वातावरण प्रदूषण एवं सिमसारमा हुने गरेको अतिक्रमणका कारण सङ्कटमा परेको उनको भनाइ थियो ।

चराबारे कलम चलाउँदै आएका पत्रकार कृष्णमणि बरालले प्रत्येक हिउँदमा जाडो छल्न साइबेरिया, मङ्गोलिया, तिब्बतलगायतका स्थानबाट पोखरा र आसपासका तालमा चरा आउने बताए । पाँच-सात वर्षअघिसम्म मंसिर लाग्नासाथ पोखरा क्षेत्रका तालमा चराको चहलपहल बढ्ने गरेकामा अचेल कम हुँदै गएको उनको भनाइ छ । विगतमा खोला किनारा र अन्य जलाशय क्षेत्रमा पाइने चरा पनि अहिले पाउन छोडिएको स्थानीय बताउँछन् ।

सुरौदी खोलाको किनारामा एक दशकअघिसम्म ठूलै सङ्ख्यामा हुटिट्याउँ पाउने गरिएकोमा पछिल्ला वर्षमा देख्न छाडिएको स्थानीय हरिराम आचार्यले जानकारी दिए । “पहिला खोला आसपासमा धेरै प्रजातिका चरा तथा पानी चरा पाइन्थे”, उनले भने, “अहिले ती चरा देख्न त के आवाज सुन्न पनि मुस्किल भएको छ ।” विगतमा ठूलै सङ्ख्यामा देखिने गरिएको हुटिट्याउँको आवाज पछिल्ला वर्ष सुन्न रहर हुने गरेको उनले जानकारी दिए ।

संरक्षण अभावमा सिमसार क्षेत्र सुक्नु, विचरण क्षेत्रमा भौतिक संरचना बन्नु, खोला तथा जलाशयमा माछा लगायतका जलचरमा कमीजस्ता कारणले चरा घटेको अनुसन्धानकर्ताको तर्क छ ।

ताल आसपासमा विगतमा भन्दा अचेल चरा निकै घटेको रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले बताए । रुपातालमा दशकअघिसम्म पाइने दाह्रे र सेतोहाँस अहिले पाउन छोडिएको छ । स्थानीयवासीले दाह्रे हाँसलाई ‘रजहाँस’ भन्छन् । साइबेरिया लगायतका स्थानबाट आउने चरा भने वर्षेनी कम हुँदै गएको बताउँदै उनले बर्डफ्लुको सङ्क्रमणका कारण साइबेरिया लगायतका स्थानमा ठूलो सङ्ख्यामा चरा मारिएका कारण पनि उनीहरूको आउनेक्रम कम भएको हुनसक्ने बताए ।

यसअघि २०७४ को हिउँदमा फेवातालमा गरिएको चरा गणनामा ४२ प्रजातिका चरा भेटिएकामा हाल तीमध्ये तीन प्रजाति घटेको तथ्याङ्कले देखाएको छ । अध्ययनले केही वर्षको अन्तरालमा ५० प्रतिशत चरामा कमी आएको देखाएको छ । विगतमा ठूलो सङ्ख्यामा आउने कर्‍याङकुरुङ पछिल्ला वर्षमा देखिन छोडेका छन् भने हुटिट्याउँ पनि कताकति देखिन थालेको छ । त्यस्तै पहेंला टाउके हाँस, सुन्जुरे हाँसलगायत चराका प्रजाति कम देखिन थालेको अध्ययनले देखाएको छ ।

पोखरा पक्षी समाजका सल्लाहकार हठन चौधरी, अध्यक्ष घिमिरे र सचिव हेमन्त ढकालले पोखरा र आसपासका क्षेत्रमा लामो समयको चरा अध्ययनलाई समेटेर लेखिएको सचित्र पुस्तकमा पोखरा उपत्यकामा ४६७ प्रजातिका चरा पाइने उल्लेख छ । विश्वमा नेपालमै मात्रै पाइने काँडेभ्याकुर पोखरा उपत्यकाका विभिन्न स्थानमा सजिलै अवलोकन गर्न सकिने र पोखरामा मात्र ४२ मांसाहारी प्रजातिका चरा पाइने समाजका अध्यक्ष घिमिरेले बताए । –रासस

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०६:११
प्रतिक्रिया दिनुहोस्