१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रियसभामा नेकपाका १६ र राजपाका दुई उम्मेदवार विजयी, आजको निर्वाचनमा कांग्रेस निल


९ माघ, काठमाडाैँ । बिहीबार भएको राष्ट्रियसभाको निर्वाचनमा नेकपाका १६ र राजपाका दुई उम्मेदवार विजयी भएका छन भने कांग्रेस निल भएको छ । बिहीबारको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीले एक सिटमा पनि जित हाँसिल गर्न सकेन । प्रदेश २ मा राजपासँग २/२ सिट भागबण्डा गर्दै चुनावमा होमिएको नेकपाले सतप्रतिशत जित हाँसिल गरेको छ । नेकपाले चुनावमा उठाएका १६ जना उम्मेदवार नै विजयी भएका छन ।

निर्वाचन अायोगका अनुसार प्रदेश १ मा महिलातर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल विजयी भए । प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल र दलिततर्फ राधेश्याम पासवान विजयी भएका छन । प्रदेश २ मा नेकपाले राजपासँग तालमेल गरेर चुनाव लडेको थियो । जसमध्ये महिला र दलित नेकपाले लिएको थियो भने अल्पसंख्यक र अन्यतर्फको उम्मेदवार राजपाले उठाएको थियो । प्रदेश २ मा गठबन्धन तर्फका राजपाका उम्मेदवार शेखर प्रसाद सिंह र मृगेन्द्रकुमार सिंह विजयी भएका छन ।

यस्तै प्रदेश ३ बाट महिलामा गङ्गा बेलबासे र अन्यमा वेदुराम भुसाल विजयी भएका छन । गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ विजयी हुँदा महिला तर्फ भगवती न्यौपाने विजयी भएकी छिन । प्रदेश ५ मा महिलामा विमला घिमिरे र अपाङ्ग तथा अल्पसङ्ख्यकतर्फ जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराई विजयी भएका छन ।

प्रदेश ६ मा महिलाबाट सुनिता बिसी र अन्यबाट मायाप्रसाद शर्मा विजयी हुँदा सुदूरपश्चिम प्रदेशबाट महिलामा शारदा भट्ट र अन्यबाट तारामान स्वाँर विजय भएका छन । १८ सिटका लागि भएको कुनै चुनावमा कुनै पनि ठाउँमा कांग्रेसले जित हात पार्न सकेन । योसंगै कांग्रेसले संघीय संसदबाट सात सांसद गुमाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार २१:५३