१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

जर्मनीमा रहेको पुरानो दूतावास बेच्ने सरकारकाे निर्णय


९ माघ, काठमाडाैँ । जर्मनीको बोनमा १८ वर्षदेखि प्रयोगविहीन रहेको पुरानो नेपाली दूतावासको जग्गा र भवन बेच्ने तयारी सरकारले थालेको छ । मन्त्रिपरिषद् बैठकले दूतावासको भवन र जग्गा बेच्ने निर्णय गरेको हो । बिहीवार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रालयमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै  साे निर्णय भएकाे जानकारी दिए ।

फाइल फाेटाे

बास्कोटाले भने,‘नेपाल सरकारको स्वामित्वमा रहेको जर्मनीस्थित घरजग्गा बिक्री गर्न दूतावासलाई अख्तियारी दिइएको छ,’‘स्वतन्त्र निकायबाट त्यसको मूल्यांकन गराउने र बेच्ने प्रक्रिया शुरू गर्ने निर्णय भएको छ ।’

न्यूनतम मूल्य तोकी बोलकबोलमा लैजाने र सबैभन्दा बढी जसले दिन्छ त्यसैलाई बिक्री गर्ने बास्कोटाले बताए । महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदनले जर्मनी एकीकरणअघि पश्चिम जर्मनीको बोनमा दूतावासका लागि नेपाल सरकारको स्वामित्वमा रहेको २ वटा घर र सो घरले चर्चेको २ हजार ८ सय ४६ वर्गमिटर जग्गा प्रयोगविहीन अवस्थामा रहेको बताएको थियो । अहिले नेपाली राजदूतावास जर्मनीको राजधानी बर्लिनमा सरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार १६:०८