१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

राष्ट्रियसभाको निर्वाचनमा ७ सिट गुमाउँदै कांग्रेस, ५९ सदस्यीय सभामा कांग्रेसको अब ६ सिटमात्र


९ माघ, काठमाडाैँ । नेपाली कांग्रेसले अाज हुने राष्ट्रियसभाको निर्वाचनमा ७ सिट गुमाउने भएको छ । राष्ट्रियसभाको निर्वाचन हुँदै गरेको सबै प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमत रहेकाले नेपाली कांग्रेसले ७ सिट गुमाउने निश्चित भएको हो । कांग्रेस ७ सिट गुमाएसँगै राष्ट्रियसभामा ६ सिटमा सीमित हुने अवस्थामा पुगेको छ । अहिलेसम्मको अवस्था हेर्दा राष्ट्रियसभामा नेपाली कांग्रेसको विजय शून्य हुने निश्चितप्रायः रहेको छ ।

निर्वाचन हुन लागेको १८ सिट मध्ये नेकपाले १६ सिटमा विजय प्राप्त गर्दैछ भने नेकपासँगको समझदारीका कारण राजपाले २ सिटमा विजय प्राप्त गर्दैछ । राष्ट्रियसभामा १९ सिट खाली हुने भए पनि एक सिट मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने भएकाले त्यहाँ पनि नेकपाकै सांसद हुनेछन ।

राष्ट्रियसभा सदस्यको १८ पदका लागि ४५ जना प्रतिस्पर्धामा रहेका छन । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ११:१०