१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

राष्ट्रियसभा निर्वाचनमा १८ सदस्य चुनिँदै, मतदान १० देखि ४ बजेसम्म


९ माघ, काठमाडौं । मुलुकका सातै प्रदेशमा अहिले केहीबेरमा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि मतदान हुँदै छ । जसबाट १८ सदस्य चुनिने छ ।

यही १८ सदस्यका लागि अहिले १० देखि अपराह्न ४ बजेसम्म मतदान हुँदै छ । अहिले मतदान केन्द्रमा मतदान अधिकृत र सुरक्षाकर्मीसहितको टोली पुगिसकेको अवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदान हुने जिल्ला सदरमुकाममा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदानका लागि पुगिसकेका छन् ।

सातै प्रदेशको उच्च अदालत रहेका जिल्ला सदरमुकाम क्रमश : मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान हुँदै छ । निर्वाचनका लागि ती जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचनमा ५५० प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष, प्रमुख–उपप्रमुख एक हजार ५०६ समेत गरी दुई हजार ५६ मतदाता छन् । निर्वाचनमा ६ राजनीतिक दलका ४५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

५९ सदस्यीय राष्ट्रियसभाका आगामी फागुन २० गते पदावधि सकिने १९ मध्ये १८ नयाँ सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:५१