१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

डन्डी र सिमेन्टको भाउ बढ्यो


९ माघ, काठमाडौं । पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डन्डी र सिमेन्टको भाउ बढेको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डन्डीमा प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेको पाइएको छ । प्रायः सबै ब्रान्डका डन्डी र सिमेन्टले यो मूल्य बढाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा फलामे कच्चा पदार्थ बिलेटको मूल्य बढेको भन्दै फलामे डन्डीको मूल्य पनि बढाइएको खबर गोरखापत्र दैनिकमा छ । यसले नेपालमा निर्माणका कामको लागत पनि बढाएको छ भने निर्माणको मुख्य सिजनमै धेरै आम उपभोक्ता मारमा परेका छन् । उपभोक्ता अधिकारकर्मीले भने बजार अनुगमन प्रभावकारी नहुँदा यसको असर डन्डी र सिमेन्टमा देखिएको बताएका छन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारका नियमन गर्ने जिम्मेवार निकायको बजारमा सक्रियता नभएकै कारण व्यापारीले हरेक सामानमा ‘कार्टेलिङ’ गरेर मनपरी भाउमा बिक्री गर्ने गरेको र यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको आरोप लगाए ।

डन्डीका लागि चाहिने कच्चा पदार्थ नै महँगो भएपछि प्रतिकेजमा एक-दुई रुपैयाँ बढ्नुलाई स्वाभाविक रूपमा लिनुपर्ने नेपाल डन्डी उत्पादन सङ्घले जनाएको छ ।

बुधबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले डन्डीको बजार भाउबारे अनुगमन गर्दा डन्डीको प्रतिकेजीमै सात रुपैयाँसम्म महँगो भएको पुष्टि गरेको छ । प्रतिटन बिलेट एक सय डलरभन्दा महँगो भएपछि मूल्य बढाउनु परेको तर्क उद्योगीको छ । अहिले भारतमा सरकारले खानीमा गरेको कडाइका कारण बिलेट उत्पादन प्रभावित भएको भन्दै नेपालमा मूल्य बढाइएको हो । विभागका बजार अनुगमन निरीक्षक अधिकृत दीपक पोखरेलले समाचारमा आएजस्तो डन्डी केजीमै आठ-दश रुपैयाँ नबढे पनि प्रतिकेजीमा तीन-चार रुपैयाँ महँगो भएको अनुगमनका क्रममा पाइएको जानकारी दिए ।

विभागले बुधबार चारवटा छुट्टाछुट्टै समूह बनाएर जगदम्बा, पञ्चकन्या, काठमाडौँ, हिमाल, लक्ष्मीलगायत डिलरमा अनुगमन गर्दा यस्तो पाइएको जनाएको छ । पञ्चकन्या डन्डी उद्योगले माघ १ गतेदेखि लागू हुने गरी आफ्नो उत्पादनमा प्रतिकेजी एक रुपैयाँ महँगो भएको उद्योगका बजार सेल्स म्यान रामराजा बस्नेतले जानकारी दिए ।

नेपाल सिमेन्ट उत्पादक सङ्घका अनुसार उत्पादन र ढुवानी लागत बढेकाले मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष ध्रुव थापाले समाचारमा आएजस्तो प्रतिबोरामा ५० रुपैयाँ नभएर दस रुपैयाँसम्म बढेको जानकारी दिए । क्लिङ्करको भाउ महँगिएको कारण नेपालमा सिमेन्ट उत्पादनको लागत बढेको र सिमेन्ट माग पनि बढेकाले थोरै भाउमा तलमाथि हुनु स्वाभाविक भएको स्वीकार गरे ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार ०७:२४