१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

नेपालमा बेल्जियमका पर्यटक बढ्ने


८ माघ, चितवन । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले भ्रमण वर्षमा बेल्जियमबाट गत वर्षभन्दा दोब्बर पर्यटक भित्र्याउने गरी गतिविधि भइरहेको बताउनुभएको छ । नेपाल आउनुभएका राजदूत थापाले आज यहाँ पत्रकारसँग कुराकानी गर्दै गत वर्ष त्यहाँका सात हजार ५०० पर्यटकले नेपाल भ्रमण गरेको बताउनुभयो ।

जनवरी १ मा ठाउँठाउँमा ब्रोसर बाँडिएको, अघिल्लो दिन क्रिश्चियन बजारमा प्रचार गरिएको, हरेक हप्ताजसो विभिन्न शहरमा भ्रमण वर्षका कार्यक्रम गरिँदै आएको, त्यहाँ हुने विभिन्न कार्यक्रममा राजदूतावासले सहभागिता जनाइ भ्रमण वर्षको निम्तो र प्रचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालीको बसोबास रहेको समुदायले कुनै एक कार्यक्रम गर्ने गरी गतिविधि गरिरहेको, नेपाली रेष्टुराँमा भ्रमण वर्षको लोगो अङ्कित स्टिकरहरु टाँसिएको उहाँले जानकारी दिनुभयो । जनवरी ७ मा औपचारिकरूपमा भ्रमण वर्षको त्यहाँ शुभारम्भ गरिएको थियो । राजदूतावासले एन्टोपेन शहरमा अहिले भइरहेको ‘टुरिज्म फेस्टिबल’मा सहभागिता जनाएर प्रचार गरिरहेको छ । फेब्रुअरी ६ मा ब्रसेल्समा हुने होलिडे कार्यक्रममा सहभागिता जनाउने राजदूत थापाले जानकारी दिनुभयो ।

बेल्जियमका बासिन्दा अफ्रिका, लावस, भियतनाम, कम्बोडिया, थाइल्याण्ड, सिङ्गापुर जाने धेरै हुने गरेको भन्दै उनीहरुलाई नेपालतर्फ आकर्षण गर्न राजदूतावास लागिरहेको राजदूत थापाले बताउनुभयो । गैरआवासीय नेपाली महासङ्घका सहकोषाध्यक्ष लोक दाहालले बेल्जियमलगायतका देशमा भ्रमण वर्षको प्रचार भइरहेकाले पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गर्नुभयो । बेल्जियमकी राजकुमारी एस्ट्रीडको अहिले भइरहेको भ्रमणले भ्रमण वर्षमा नेपाल पर्यटक भित्र्याउन थप मद्दत पुग्ने उहाँले बताउनुभयो ।

एनआरएनए बेल्जियमका पूर्वमहासचिव दाहालले गत वर्षको भन्दा दोब्बर बढी पर्यटक बेल्जियमबाट भित्र्याउन आफूहरु लागिपरेको बताउनुभयो । बेल्जियममा आठ हजार हाराहारी नेपाली छन् । बेल्जियमको जनसङ्ख्या एक करोड २० लाख छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १९:०९