१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गाउँपालिकाको गाडी कर्मचारीले सिक्न खोज्दा १ जनाकाे मृत्यु, वडा अध्यक्षसहित ४ जना घाइते


८ पुस, नवलपुर । गाउँपालिकाको गाडी कर्मचारीले सिक्न खोज्दा १ जनाकाे मृत्यु भएकाे छ भने वडा अध्यक्षसहित ४ जना घाइते भएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिकाको ग१झ ३८९ नम्बरको स्कोर्पियोको ठक्करबाट हुप्सेकोट– ४ का ५ वर्षीय बालक डिपु गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यायल नवलपुरले जनाएको छ ।

स्कोर्पियोको ठक्करबाट हुप्सेकोट ५ का वडाध्यक्ष पदमबहादुर राना, हुप्सेकोट– ४ का ५५ वर्षीय भीमबहादुर लुंगेली, २६ वर्षीया मीना गाहा, र ७० वर्षीय पूर्णबहादुर लामा घाइते भएका हुन् । घाइते वडाध्यक्ष राना डिस्चार्ज भइसकेका छन् भने अन्य ३ जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

गाउँपालिकाको गाडी वडाध्यक्ष राना चढेको ना१ब २५७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर घरमा अन्य ४ जनालाई ठक्कर दिन पुगेको थियो । गाउँपालिकाका कर्मचारी शिवप्रसाद सुवेदीले गाडी सिक्ने क्रममा ठक्कर दिएको स्थानीयको आरोप लगाएका छन् ।

स्थानीयले मंगलवार साँझ ५ बजे भएको उक्त घटनापछि केही कर्मचारीलाई गाउँपालिकाको कार्यलयमै थुनेका थिए । उनीहरूलाई बेलुका निकालिएको थियो । स्कोर्पियोका चालक फरार रहेकाे र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले आरोप लगाएका कर्मचारी सुवेदी समेत फरार छन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १२:४७