१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्


८ माघ, सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानी नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमतिअनुसार भुक्तानी नपाउँदा किसान निराश भएका छन् ।


लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानी नपाएपछि काठमाडौं पुगेर आन्दोलन गरेका थिए । किसानको आन्दोलनपछि उद्योगीले सरकारसमक्ष माघ पहिलो साता सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति जनाएका थिए । तर विगत तीन वर्षदेखिको भुक्तानी नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानी नदिएको खबर गोरखापत्र दैनिकमा छ ।

आन्दोलन गर्न काठमाडौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानी गरेको छ । अन्नपूर्णले सरकारसँग योपटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन । किसानलाई अघिल्ला वर्षहरुको भुक्तानी दिन नसकेर सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।

चिनी उद्योग सञ्चालन नहुँदा यहाँका किसान सख्खर बनाउने क्रसर उद्योगलाई कम मूल्यमा उखु बिक्री गर्न बाध्य भइरहेका छन् । सरकारसँग सहमति भएपछि पनि पुरानो भुक्तानी नपाउँदा दुःख लागेको विष्णु गाउँपालिकास्थित बाराका उखु किसान अजित सिंहले बताए । उनले आन्दोलन गर्न काठमाडौं गएका किसानले पैसा पाए पनि अरुले नपाएका जानकारी दिए । उखु किसानका अनुसार अन्नपूर्णले अझै किसानको २१ करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ ।

सरकारसँग सहमित भएपछि जिल्लाको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदह भने सञ्चालनमा आइसकेको छ । यो उद्योगले पनि गत वर्षको किसानलाई पूरा भुक्तानी गरिसकेको छैन । उद्योगले अझै धेरै किसानको भुक्तानी दिन बाँकी रहेको उखु किसानसमेत रहेका गोडैता नगरपालिकाका प्रमुख देवानन्द रायले बताए ।

महालक्ष्मीले किसानलाई अझै १० करोड रुपैयाँको हाराहारीमा भुक्तानी गर्न बाँकी छ । सरकारसँग सहमति भएपछि केही रकम भुक्तानी गरेका चिनी उद्योगीले बैङ्कबाट ऋण नपाउँदा सबै किसानको भुक्तानी दिन नसकिएको बताएका छन् ।

सरकारसँग सहमति गरेर पनि चिनी उद्योगले भुक्तानी नदिँदा उखु किसानमा थप निराशा पैदा भएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार ०६:३०