१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

नेपाल प्रहरीको जागिरप्रति निराशा बढ्दै, दैनिक ७ जनाले जागिर छाड्न थाले


७ माघ, काठमाडाैँ । नेपाल प्रहरीको जागिरप्रति निराशा बढ्न थालेको छ । अाैसतमा दैनिक सात जनाले जागिर छाड्न थालेको खबर अाजको राजधानी दैनिकले प्रकाशित गरेको छ । प्रहरीका सबै पदमा यस्तो निराशा देखिएको छ । चरम राजनीतिक हस्तक्षेपले अोरालो यात्रामा देखिएको प्रहरीभित्र बाहिरबाट देखिने भन्दा बढी निराशा भित्रै भएको जागिर छाड्नेको सख्या हेर्दा अनुमान गर्न सकिन्छ । त्यस्को एउटा दृष्टान्त हो ६ हजार ८४६ जनाले २ वर्षको बीचमा जागिर छाड्नु । चेन अफ कमाण्ड समेत ध्वस्त हुँदै गएको प्रहरीको यो उल्टो यात्रा रोक्नु पर्छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सातजनाले राजीनामा दिने गरेका छन । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनु  लगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा प्रहरी नायब महानिरीक्षक (डिआइजी), २ प्रहरी नायब उपरीक्षक (डिएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन्।

आर्थिक वर्ष २०७५/७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डिएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन्। यसैगरी, चालु आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन्। राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन्।

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डिआइजी रमेश खरेलले राजीनामा दिएका थिए। खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए। त्यसअघि डिआइजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए। सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए।

डिआइजीबाट सिधै आइजी बनाउँदा पछिल्लो पटक प्रहरीमा धेरैखालका सन्तुल बिग्रिएको छ । जसको कारण प्रहरीको नेतृत्व परिपक्क हुन सकेको छैन । डिआइजी भएको एक वर्षभित्रैमा सीधै आइजी बन्ने व्यवस्था प्रहरीका लागि बिडम्बनापूर्ण छ । जसले गर्दा बीचको एआइजीको पदको गरिमा समेत घटेको छ । कम्तिमा डिआइजी र एआइजी समेत भएर काम गरेको व्यक्ति प्रहरी प्रमुख हुने व्यवस्थाका लागि सरकारले कानुन संशोधन गर्नुपर्छ । एक जना एसएसपीले सिंगो प्रहरी संगठनलाइ चुनौति दिने अवस्था सिर्जना भएका छन । यसतर्फ सरकारले समयमै ध्यान दिनु आवश्यकछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०८:२६