११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

अब बाग्मती प्रदेशभर विद्युतीय बस


७ माघ, काठमाडौं बाग्मती प्रदेशभरि विद्युतीय बस चलाउने योजना अगाडि सारिएको छ । काठमाडौँ, धुलिखेल, हेटौँडासहित बाग्मती प्रदेशभरि नै विद्युतीय सवारीसाधन सञ्चालन गर्न प्रदेश सरकार, काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा टोखा नगरपालिकाका नगर प्रमुखबीच सोमबार हेटौँडा सहमतिसँगै यो योजना अगाडि बढ्ने भएको हो ।

त्यसैगरी, बाग्मती प्रदेश सरकारले अगाडि बढाउने विकास योजनामा प्रदेशका सबै स्थानीय तहलाई सहभागी गराइने र स्थानीय तहले पनि सक्दो लगानी गर्ने सहमति प्रदेश सरकार र स्थानीय तहबीच भएको खबर गोरखापत्र दैनिकमा छ । बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश सरकार र स्थानीय सरकारबीच भएको बैठकले सो सहमति गरेको थियो ।

बैठकमा बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभा सदस्य दीपक निरौला, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी विद्युतीय बस चलाउन सहमत भएका हुन् ।

निर्माण कम्पनी स्थापना
प्रदेशको तीव्र विकासका लागि बाग्मती प्रदेश सरकारले आफ्नै निर्माण कम्पनी स्थापना गर्न लागेको जानकारी मुख्यमन्त्री पौडेलले दिए । उनले भने, ‘‘प्रदेशको भौतिक निर्माणलाई तीव्रता प्रदान गर्न तथा कम समय र लगानीमा गुणस्तरीय विकास गर्न प्रदेश सरकारले ‘प्रदेश पूर्वाधार निर्माण कम्पनी’ स्थापना गर्न लागेको हो ।’’

ललितपुर महानगरपालिका प्रमुख महर्जनले दिगो विकास लक्ष्य, २०३० अनुसार विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउन बाग्मती सरकारको तर्फबाट एउटा कम्पनीको व्यवस्थापन गर्ने र त्यो कम्पनीमा मुख्यतः प्रदेशका सबै महानगरपालिका र नगरपालिका समावेश भएर लगानी गर्ने निर्णय भएको जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलवार ०६:३५