१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सक्नेले १० रुपैयाँ, नसक्नेलाई सित्तैमा खाना !


६ माघ, सुरुंगा सडक बालबालिका, असाहय र विपन्न समुदायलाई लक्षित गर्दै झापाका तीन युवाले विगत तीन सातादेखि १० रुपैयाँमै खाना उपलब्ध गराउँदै आएका छन् । मारवाडी समुदायका प्रविन अग्रवाल, पुरुषोत्तम अग्रवाल र मनोज अग्रवालले विगत तीन सातादेखि दैनिक ५ सय जनालाई खाना खुवाउँदै आएका हुन् ।

बिर्तामोडको मुख्यचोकमा बिहान ७ देखि अपराह्न १२ बजेसम्म दैनिक दाल, भात, तरकारी र अचारसहितको खाना सेट उपलब्ध गराउँदै आएको युवा व्यवसायी प्रविनले बताए । उनले भने, “चिसो मौसममा कतिपय घरमा खान नभएर भोकै काममा हिँड्नुपर्ने हुन्छ अनि कतिपय सडक बालबालिका खानाको खोजीमा चिसोमा भौँतिरिरहेका हुन्छन्, उनीहरुलाई सहजताका लागि हामी तीन जनाले १० रुपैयाँमै खाना दिन थालेका हौँ ।”

सित्तैमा खाना खान पाइने भएपछि अहिले मजदुरलाई धेरै सहज भएको उनले बताए । उनले भने, “१० रुपैयाँ हुनेले दिन्छन् नहुनेले दिँदैनन्, हामी कसैसँग पनि पैसा माग्दैनौँ, सहयोगका लागि टोकरी राखिदिएका छौँ, इच्छा हुनेले त्यही टोकरीमा पैसा राखिदिनुन्छ ।”

सामाजिक कामका लागि तीन युवाले देखाएको आँट अहिले झापावासीका लागि उदाहरणीय बनेको छ । बिहानको चिसोमा तीन युवा आफैँ खानाको तयारीमा जुट्छन् । उनीहरुसँगै अरु तीन कालीगढ पनि बिहानै निस्कन्छन् ।

बिहानै ६-७ जनाको समूहले तयार गरेको खाना वितरण गर्न दुई महिलाले सधैँ सहयोग गर्दै आएका छन् । बिहान ७ बजेबाट खाना वितरण सुरु हुन्छ । १० बजेसम्म खाना खानेको चोकमा भीडभाड हुन्छ । “१० रुपैयाँमा खाना वितरण गर्नेभन्दा सुरुमा कसैले पत्याएका थिएनन्,” पुरुषोत्तमले भने, “बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, प्रदेश १ का उद्योग वाणिज्य संघका सदस्य बलराम कार्कीको उपस्थितिमा हामीले खाना वितरणको कार्यक्रम थाल्दा सबैले हाँसो मजाकमा उडाउनुभयो, तर अहिले तीन सातादेखि निरन्तर निःशुल्क खाना प्रदान गर्दै आएपछि सहयोग जुट्न थालेको छ ।”

बिर्तामोडमा १० रुपैयाँमा खाना दिन सुरु गरेपछि दमक र भद्रपुरमा पनि केही युवाले यस्तै कामको थालनी गरेका छन् । झापाका तीन ठाउँमा १० रुपैयाँमै खाना खान पाइने भएपछि विपन्न समुदाय, मजदुर, सडक बालबालिका र असहायका लागि सहज भएको छ ।

“रमाइलोका लागि वनभोज जानुभन्दा विपन्नलाई खाना दिएर पेट भर्नु पुण्यको काम हो”, मनोजले भने, “अहिले दैनिक कम्तीमा ५ सय जनाले चिसो मौसममा तातो भात खाइरहनुभएको छ, जसले गर्दा उहाँहरुलाई काममा जान सहज भएको हामीले महसुस गरेका छौँ ।”

दिनहुँ महँगी बढिरहेका बेला दैनिक ५ सयको हाराहारीलाई तीन युवाले तीन सातादेखि खाना खुवाउने काम गरेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइराला, चन्द्रगढी विमानस्थलका प्रमुख पूर्ण चुडाल जिल्लाका सरकारी निकायका उच्च अधिकारी सामाजिक सङ्घसंस्था, उद्योगी व्यवसायीले अनुगमन गर्दै प्रशंसा गरेका छन् । –रासस

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०८:४८