१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हिमपहिरोमा हराएका पदयात्री भेट्न कठिन


६ माघ, पोखरा अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन् ।

प्रतिकात्मक तस्बिर ।

त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए । हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो । ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६/७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था नरहेको खबर नागरिक दैनिकमा छ ।

गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन् । तीमध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ । खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ । कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए । स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ । अहिले पनि हिउँ पर्ने क्रम नरोकिएको र पदमार्ग पूरै हिउँले पुरिएकाले पदमार्गको दोभानभन्दा माथि बास बस्न ठाउँ नै नभएको उनले बताए ।

पदयात्रामा जाँदा होस पुर्‍याउन आग्रह
कास्की प्रशासनले हिउँ पर्ने क्रम नरोकिएको र पदयात्रामा जोखिम रहेको भन्दै पर्यटकलाई एबिसीको पदयात्रामा नजान अनुरोध गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले अहिलेका लागि तत्काल पदयात्रामा जान सकिने अवस्था नरहेकाले अझै केहीदिन रोकिन आग्रह गरिएको बताए ।

‘पर्यटकलाई रोक नै लगाएको होइन तर सतर्कता अपनाउन भनेका छौं,’ उनले भने, ‘पदमार्गमा हिउँ पर्ने क्रम नरोकिएको र हिउँ जमेकाले पनि कठिन रहेको सूचना दिएका छौं । मौसमी विवरण हेरेर सचेत भएर मात्र जान आग्रह गरेका छौं ।’ उनले अहिले पदमार्गमा हिँउ जमेकाले बाटो पहिल्याउन कठिन रहेको बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०७:३४