१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

प्रवन्ध निर्देशकको लिगलिगे दौडले टेलिकममा धमिरा


२४ वैशाख, काठमाडौँ ।  काठमाडौँ । नेपाल टेलिकमको इतिहाँसमै पहिलो पटक खुला प्रतिष्पर्धाबाट तीन वर्षका लागि प्रवन्ध निर्देशक पदमा बहाल भएकी कामिनी राजभण्डारीलाई अहिले सबैतिरबाट घेराबन्दी भएपछि उनी टेलिकम धरासायी बन्ने निश्चित देखिएको छ । उनी तीन वर्षका लागि नियुक्त भएको डेढ वर्ष मात्रै पुग्दै गर्दा उनलाई पदवाट हटाउन र सो पद हात पार्न त्यहीका केही कर्मचारी नै ‘लिगलिगे’ दौडमा लागेपछि थप समस्या भएको हो ।

टेलिकममा सातौँ तहबाट सेवा शुरु गरेकी कामिनी डेढ वर्ष अघि १३ जना प्रतिष्पर्धीलाई पछि पार्दै खुला प्रतिष्पर्धाबाट प्रवन्ध निर्देशक बन्न सफल भएकी हुन् । तर, राजनीतिमा भन्दा संस्थाको हितमा बढी चासो राख्ने कामिनीलाई हटाउन त्यहीका कर्मचारी नेताको घर–दैलो चाहार्न थालेपसिछ पछिल्लो समय सर्वाधिक राजस्व तिर्ने संस्था टेलिकम समस्यामा पर्न थालेको त्यहिँका कर्मचारीको गुनासो छ ।

३० वर्षदेखि निरन्तर त्यही क्षेत्रमा काम गर्दै आएकी कामिनीले टेलिकमको नेतृत्व सम्हालेपछि टेलिकम भित्र सुधारका संकेतहरु निकै देखिएका छन् । तर, उनको कामको चर्चा गर्नु भन्दा पनि संस्था भित्रै चरम राजनीति गर्ने र सरकार फेरिएनै पिच्छे प्रधानमन्त्री र सरोकारवाला मन्त्रीको दैलो चाहार्ने र उनीहरुलाई गलत सूचना दिएर स्वार्थपूर्ति गर्ने केही कर्मचारीको मार अहिले कामिनीले खेपिरहेको पनि टेलिकमै केही कर्मचारीहरुले गुनासो गरेका छन् । कामिनीले टेलिकमको नेतृत्वमा आएपछि फोरजी विस्तारमा निकै चासो दिएकी छिन् । उनी नेतृत्वमा आएपछि गति लिएको फोरजी सेवालाई देशैभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित नेपाल टेलिकमले फोरजी एलटीई नेटवर्क बिछ्याउने कार्यलाई अन्तिम तयारी गरेको छ ।

छुट्छाछुट्टै निश्चित ठाउँमा मात्र फोरजी विस्तार गर्दा सबै ग्राहकलाई सुविधा नपुग्ने भन्दै टेलिकमले एकैपटक सबै प्रयोगकर्तालाई यस्तो सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको स्रोतले जानकारी दिएको छ । नेटवर्क विस्तार भएसँगै ६५ लाख ग्राहकले उच्च गतिको फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । तर, अहिले प्रवन्ध निर्देशक कामिनीलाई असफल बनाउन केही विचौलीयाहरु कम्मर कसेर लागेपछि फोरजी सेवा विस्तारमै अवरोध भएको बुझिएको छ ।

फोरजी सेवा विस्तारसँगै सरकारले अघि सारेको स्मार्ट सिटी, स्मार्ट होम र जनताको स्मार्ट लाईफ बनाउन सहयोग पुग्ने छ । तर, अहिले कामिनीका योजनालाई असफल पार्ने र उनीलाई असफल बनाएर हटाएपछि त्यो पद हात पर्ने उदेश्यले टेलिकमकै १० औँ र ११ तहका कर्मचारी हात धोएर लागेको स्रोतका दाबी छ । म्याद सकिन एक महिना पनि बाँकी नरहेका ११ औँ तहकै केही कर्मचारी पनि कामिनीलाई हटाउन पाए त्यो पद आफूले प्राप्त गर्ने र केही वर्ष हालिमुहाली गर्ने घृणित खेलमा लागेर सरोकारवाला मन्त्री र प्रधानमन्त्रीको समेत दैलो चाहर्न थालेको पनि स्रोतले बताएको छ ।

अझ गज्जब त के छ भने डेढ वर्ष अघि प्रवन्ध निर्देशकका लागि भएको प्रतिष्पर्धामा कामिनीसँग पराजित टेलिकमकै १० औँ र ११ तहका कर्मचारीको लिगलिगे दौडले टेलिकम लथालिङ् बन्ने अवस्थामा पुगेको छ । केही सञ्चारमाध्ययमलाई उपयोग गरेर कपोलकल्पित र भ्रामक समाचार छपाएर टेलिकमको छविलाई नै धुमिल बनाउने खेलमा त्यहिँका केही कर्मचारी लागेपछि अहिले टेलिकममा धमिरा लाग्न थालेको भन्दै गुनासो पनि त्यत्तिकै आउन थालेको छ ।

विचौलियाको यस्तोसम्म चलखेल
अहिले देशमा स्थायी सरकार छ । बामपन्थी नेतृत्वको स्थायी सरकार बनेपछि अहिले धेरैले राहतको महशुस गरेका छन् । तर, केही विचौलियाहरुको जालोका कारण प्रधानमन्त्रीसँगै सरोकारवाला मन्त्रीहरु समेत विवादमा तानिने हुन कि भन्ने खतरा पनि त्यत्तिकै देखिएको छ । अझ गज्जब त के छ भने पत्रकारिता पृष्ठभूमिकै व्यक्ति अहिले सञ्चारमन्त्री छन् । टेलिकम सञ्चारमन्त्रालयको मातहतमा छ । अहिले केही विचौलियाहरुको जालो मन्त्री रिजाझाउन समेत लिगलिगे दौडमा लागेपछि हठ्ठी स्वाभावका सञ्चारमन्त्री पनि कतै झुक्किएर ती विचौलियाको फन्दामा परेर फस्ने हुन कि भन्ने पनि आशंकाहरु उत्पन्न हुन थालेका छन् ।

मन्त्रीलाई टेलिकमको गतिविधिका बारेमा गतल सूचना दिएर कामिनीलाई कमजोर पार्ने र हतटाउने खेलमा केही कर्मचारीहरु नै लागेको भन्दै तीन वर्षका लागि खुला प्रतिष्पर्धाबाट आएको र कुनै गल्ती नगरेको भन्दै उनी ढुक्क रहेको पनि स्रोतले बताएको छ । ‘प्रवन्ध निर्देशकज्युले कम्पनीलाई परिमार्जन गर्न सक्ने गरी अहिलेसम्कै सबै भन्दा ठूला परियोजनाहरु लिएर आउनु भएको छ,’ टेलिकम स्रोतले भन्यो, ‘उहाँको काम गर्ने शैलीबाट आत्तिएका केही व्यक्तिहरु अहिले उहाँलाई कमजोर बनाउन लागेका छन् । अनावश्यक रुपमा उहाँलाई हटाउने काम भयो भने उहाँ अदालतको ढोका घचघच्याउन जान सक्ने बाटो बन्द भएको छैन ।’

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारी।

कमिनी आएपछि टेलिकममा यस्तो सुधार
कामिनीले टेलिकमको नेतृत्व सम्हालेदेखि नै टेलिकमले नाफा बढाउँदै आएको छ । आर्थिक वर्ष ०७२÷०७३ मा ४४ अर्ब २१ करोड कुल आम्दानी गरेको टेलिकमले ०७३÷०७४ ४४ अर्व ५९ करोड कुल आम्दानी गरेको देखिन्छ । आर्थिक वर्षको हाल सम्मको डाटा सेवाको राजस्वको प्रवृत्ति हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि हुने देखिएको छ । कम्पनीको अर्धवार्षिक वित्तीय उपलब्धी यो वर्ष पनि २२ अर्व ३७ करोड देखिएको छ । कम्पनीको सबैभन्दा ठूलो ग्राहक आधार रहेको जीएसएम मोबाइल सेवाको राजस्व पनि वृद्धि हुने देखिएको टेलिकमले जानकारी दिएको छ । तर, केही व्यक्तिहरु कामिनीले कम्पनी डुवाएको भन्दै हल्लाका भरमा कुदिरहेका छन् ।

बीटीएस र जीएसएम लाईन थपिदैं
डेढ सय बढी बीटीएस एक करोड जीएसएम लाइन विस्तारको प्रक्रियालाई कम्पनीले थप गति दिएको छ । यसका लागि आवश्यक बीटीएस टावर जडानको काम अघि बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार एक करोड लाइन अन्तर्गत काठमाडौं र पोखरामा ४८ लाख लाईन विस्तार भइसकेको छ भने अन्य क्षेत्रमा विस्तार गरिने ५२ लाख लाईनको पूरा हुन केही बाँकी छ । यसका लागि पूर्वाञ्चलमा ६१ र मध्यपश्चिमाञ्चलमा ५४ वटा टावर राख्ने काम भइरहेको छ ।

अन्तराष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको आरोपको यस्तो खण्डन
कामिनीलाई असफल पार्न केहीले अन्तराष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको र त्यसमा उनैको हात भएको आरोप लगाउने गरेका छन् । तर, त्यस आरोपको आइतबार टेलिकमले जारी गरेको विज्ञप्तिले नै खण्डन गरेको छ । विज्ञप्तिमा टेलिकमले हाल उपभोक्ताको रुचि डाटामार्फत प्राप्त हुने सेवातर्फ आकर्षित हुदै गएकोले विश्वव्यापी रुपमा नै अन्तराष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको उल्लेख गरेको छ । पीडब्लूसी नामक कम्पनीले गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०१७ मा अन्तराष्ट्रिय कलको आम्दानी विश्वव्यापी रुपमा करिब २० प्रतिशतले घटेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘नेपालको सन्दर्भमा नेपाल टेलिकम र अन्य सेवा प्रदायकको पनि २० प्रतिशतकै हाराहारीमा सो आम्दानी घटेको सेवा प्रदायकहरुको वार्षिक प्रतिवेदनबाट देखिन्छ । नेपाल टेलिकमले आम्दानी बृद्धिका लागि अन्य विभिन्न भ्यालु एडेड सेवाहरु (सीआरबीटी पुनः सञ्चालन, वोउ टाइम, म्युजिक नेपाल एप्स, नमस्ते क्रेडिट आदि) सञ्चालनमा ल्याइसकेको तथा थप सेवाहरु सञ्चालनमा ल्याई राजस्व वृद्धिको प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको, आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १,४ सय १५ नयाँ बीटीएस टावर सञ्चालन र ६ सय ८९ पुरानो बीटीएस टावर प्रतिस्थापन तथा ३ सय ८७ फोरजी बीटीएस समेत गरी कुल २,४ सय ९१ बीटीएस सञ्चालन भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘आर्थिक वर्ष २०७४÷७५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेका छन,’ विज्ञप्तिमै भनिएको छ ।

कम्पनीले टीडीएम प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई अत्याधुनिक आईपी प्रविधिको प्रणालीबाट विस्थापित गर्ने आयोजना आर्थिक वर्ष २०७३÷७४ मा कार्यान्वयन आरम्भ भएकोमा यस अवधिमा पुराना प्रविधिका एक्सचेन्जहरुलाई आईएमएस प्रविधिको उपकरणले प्रतिस्थापन गरी सबै ग्राहकलाई डाटा सेवा उपलब्ध गर्ने क्षमता सहित १ लाख २७ हजार ७ सय ४० लाइन सञ्चालनमा ल्याइसकिएको छ । प्रतिस्थापन कार्य हाल पनि चलिरहेको छ ।

यसै आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार सबै सेवाहरुको बिलिङ प्रणालीलाई एकीकृत रुपमा सीआरटीबीमा स्तरोन्नति गरिएको, भूकम्पबाट अति प्रभावित चार जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका ४ सय ४ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको जस्ता कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । कम्पनीले ती स्थानहरुमा वाइम्याक्स, इभीडीओ तथा थ्रिजी मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता बमोजिम यी चार जिल्लाका थप विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउनका लागि प्राथमिकताका साथ आवश्यक कार्य गरिहेको जानकारी पनि दिइएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार ०८:१७