७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

-शम्भु गजुरेल

आजकल हरेक शनिबार
निकै व्यस्त हुने गरेको छ कलम
मिर्मिरे उज्यालो मा
लक्पकाउदै धर्धराउदै
स्वार्थको तिर्थ यात्रामा
निस्किन्छ कलम।

पार्कर कलम हरू
चिल्ला गाडीमा
बहुमुल्य कोटको खल्तीमा
चिटिक्क सजिएर
पेरिस को अत्तर उडाउदै
सुल्तान झैं झुल्किन्छन्
ढसक्क बस्छन
डबली को अग्रभागमा
खादाले बेरिएर
मालाले चेपिएर
महङ्गो कलम संघको
अध्यक्ष बनेर।

चोया कलमहरू
तुषारोमा कक्रीदै
तुवाँलो मा झक्रीदै
बाबाजी कलमको
चरणामृत प्राप्ति को आशामा
सुगा सुहेल अनि क्यामेल आदि
अनेक नामका
मसिका बोतलमा
चाप्लुसिको नशा मिसेर
पवन पुत्रे मुद्रामा
परिक्रमा गर्दै गरेका छन
एक थप्पड धाप को आशामा।

एक हुल कलम हरू
समर्पण को मुद्रामा
कुर्सी कलमका
भजन मण्डली मा
थपडी सुचक
मुण्डी हलाउदै गर्दा
गुज गुज मसि छादेको देखिन्छ
पसिना को भेल जस्तै।
एउटा गाई ढ्याक उपहार को लागी ।

हरेक गौडा र कोठामा
लेख्ने मझेरी
मझेरी मा रमणीय तामझाम
ढोल नगरा समेत बज्दैछन
सृजना का तरंग उछाल्ने नाममा
बिज्ञापन को नयाँ
प्रयोगशाला बनाइदै छ
कलम र कापी को
मानक तय हुदैछ कतै!
मानक चुडाल्ने हुंकार कतै छ,
धेरै धेरै कलम
शिसाकलम
दट्पिन हरू
निव भाचिएका
मसि सकिएका
बोधो भएका
तरपनी सिंगार ले सजिएका
उछिन्ने होडमा
तछाड मछाड।

सुइरे कलम लाइ
आश्वासन को मसि दिएर
कोराइएको मंगल गान मा
सजिएको मलमली कार्पेटमा
बरदान दाता कलम पूजनमा
लम्पसार पर्दैछन
बोधा कलम हरू
उहिलेका जिम्वाल कलम जस्तै,
हरेक शनिवार ।

यहाँ भाले कलम
अनि पोथी कलम हरूको
अनौठो जुगलबन्दी पनि छ
अनौठो उपहार शैली छ
छुट्टै मसिको मादकतामा
लठ्ठिने उन्मादमा
भगेरे कलम लाइ
घोर्ले कलम बनाउने
जङ्गे कलम हरूको निरंकुशता मा
लुरे कलम चेपिदैछ
भोग बिलासको रंगिन
अनि लचकदार पलङ्गे कागजमा।

आमा कलम
छोरा कलम
बाउ कलम
छोरी कलम
दौडधुपमा छन
जागिरे कलम को
गोडाको पानीले
अभिषेक पाउने होडमा
एक पित्को उपहार थाप्ने लोभमा।

झण्डा कलम हरू
भित्री भोटोमा
झण्डाको फोटो लुकाएर
कलम मात्रको अनुहार देखाउने
कृत्रिम जमर्को गर्दैछन
प्रश्न सोध्ने शिसाकलम लाई
भाचिदिने अघोषित
धम्की मिश्रित सुझाव ओकलेर
शक्ति र बिद्वतताक दम्भ उराल्दैछन
चस्मा भित्र आखा झिम्क्याएर
गाला सम्म जोडिएको घाटी
झड्काएर रिसाएको साढे जस्तै।

केवल शनिवार
झिल्के कलम
नेता कलम
धनी कलम
प्रचार कलम को
दर्शन भेटमा झुत्तिने कलम हरू
भाट कलम
स्वार्थी कलम
भ्रष्ट कलम
अनि
सामन्ती कलमको
काल्पनिक स्वयंवर परिक्रमा
त्याग्नु छ
अब त
आफै भित्र
बिसंगती को मसि लाइ
ज्वाला बनाएर
असमानता को कागजमा
निर्धक्क ओकल्ने दिन आएको छ
कलम ले कलम को
बिलासिता दारिद्र्यता
अनि
चाटुकारिता लाइ
योग्यताको तक्मा दिने
शकूनी पनको बिरुद्द
शब्द वाण चलाउनु
अपरिहार्य बनेको छ
हरेक बार
बार बार
बारम्बार ।

नुवाकोट

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार १०:२५