१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सरकार परिवर्तनको अध्याय सकियोः रक्षामन्त्री पोखरेल


२३ वैशाख, लमजुङ । रक्षामन्त्री ईश्वर पोखरेलले अब सरकार परिवर्तनको अध्याय सकिएको बताउनुभएको छ । जिल्लाको क्होलासोँथारमा आयोजित १९औँ घलेगाउँ महोत्सवलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक अब सृमद्धिको बाटोमा अघि बढेको छ, सरकार जनतालाई समृद्ध बनाउने विषयमा लागिपरेको छ ।”

मन्त्री पोखरेलले पर्यटनलाई जनताको जीवनसँग गाँसेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले जनताको जीवन र रोजगारसँग नगाँसिए पर्यटन क्षेत्रको विकास हुन नसक्ने दाबी गर्नुभयो ।

“घलेगाउँलाई दक्षिण एसियामा मात्र नभई विश्वभर चिनाउनु पर्छ,” उहाँले भन्नुभयो, “आफ्नो पहिचानलाई उत्पादन, समृद्धि र रोजगारीसँग जोड्ने गरी आफ्नो गतिविधि गर्नुपर्छ ।”

घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घलेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापा, पूर्वसांसद जमिन्द्रमान घले, डा भीष्मनाथ अधिकारीलगायतले घलेगाउँ पर्यटनका लागि देशकै गहना भएको बताउनुभयो । आजदेखि शुरु भएको सो महोत्सव मंगलबारसम्म चल्ने छ ।

राससकर्मी पौडेल सम्मानित

उन्नाइसौँ घलेगाउँ महोत्सवको अवसरमा राष्ट्रिय समाचार समितिका लागि लमजुङ समाचारदाता सन्देश पौडेल सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यामबाट घलेगाउँको पर्यटन प्रर्वद्धनमा योगदान पु¥याएको भन्दै पौडेललाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि रक्षा मन्त्री ईश्वर पोखरेलले सम्मान पत्र तथा भादगाउँले टोपी लगाईदिएर सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १९:२८