१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सभामुख टुंग्याउँदै नेकपा: ओली–प्रचण्ड छलफलमा


३ माघ, काठमाडौं । नेपाली राजनीतिक वृत्तमा अहिले सभामुखको विषय पेचिलो बन्दै गएको छ । यद्यपि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज भने सभामुखको विषय टुंग्याउने गरी तयारी थालेको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख निर्वाचनलगायत विषयमा हिजो बालुवाटारमा गहन छलफल भएको छ । सभामुख निर्वाचनको विषयमा सकारात्मक कुराकानी भएको र संसद् बैठक बस्नुअघि टुंगो लगाउने सहमति भएको प्रचण्डको निजी सचिवालयको दाबी छँदै छ । यता बालुवाटार पनि आज जसरी हुन्छ सभामुखको टुंगो लगाउने तयारीमा रहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा हिजोको छलफलमा वार्ता सकारात्मक भएको र आज सभामुखको विषयमा टुंगो लगाइने सहमति जुटेको छ ।

ओली-प्रचण्ड दुवैको सचिवालयले सभामुख चयनका विषयमा चाँडै निकास दिने गरी तयारी थालिएको दाबी गरेको छ । यसअघि सभामुख चयनका विषयमा अध्यक्षद्वय ओली र प्रचण्डबीच आ–आफ्नै अडान रहँदा संसद्को बैठक अवरुद्ध भएको छ ।

सभामुखको विषय टुंगो नलागेकै कारण संसद्को बैठक तीनपटक सूचना टाँसेर सारिएको छ । पुस ११, १६ र २७ गते बोलाएको बैठक सभामुखका कारण सर्दै आएको हो । अब माघ ६ गतेका लागि संसद् अधिवेशन बोलाइएको छ । सभामुख चयनका लागि बाटो खोलिदिन नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन आग्रह गरेको छ तर उनले सभामुख को बन्ने निश्चित भएपछि मात्र राजीनामाबारे सोच्ने नेकपाका शीर्ष नेतालाई सुझाएकी छन् ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार ०७:२०