१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

विद्यार्थी छैनन्, पढाइ छैन, वर्षमा तीनपटक हाजिर


१ माघ, सिमकोट सुन्दा पत्याउन कठिन हुन्छ तर वास्तविकता यही हो । हुम्लामा स्थापना भएको सर्केगार्ड बहुमुखी क्याम्पसमा विद्यार्थी वर्षदिनमा तीनपटक मात्र आउने गर्छन् ।

सामुदायिक क्याम्पस भएको, स्रोत अभावले शिक्षकको व्यवस्था नहुनु र विद्यार्थी पनि क्याम्पसमा अध्ययन गर्न नआउने भएकाले कक्षा सुचारु नभएको हो । शिक्षा संकायको स्नातक तह तेस्रो वर्षमा अध्ययन गर्दै आएका पवन शाहीले क्याम्पसमा पढाइ नहुने भएपछि क्याम्पस नगएरै परीक्षा दिने गरिएको बताए ।

उक्त संकायको तेस्रो वर्षमा ३५ विद्यार्थी भएकोमा उनीहरु मध्य कतिले क्याम्पसमा पाइलासमेत नटेकेको खबर गोरखापत्र दैनिकमा छ । पहिलो वर्षमा तीन, दोस्रोमा चार र चौथो वर्षमा चार विद्यार्थी भर्ना भएका थिए ।

पढाइ नहुने भएपछि घरमा पढ्ने वा ‘चिट’का भरमा परीक्षा दिने शाहीले बताए । उक्त क्याम्पसमा व्यवस्थापन विषयको पनि अध्ययन हुने गरेको भए पनि हाल सो विषयमा कुनै विद्यार्थीले भर्ना गरेका छैनन् ।

भवन भए पनि जहिल्यै बन्द रहन्छ । क्याम्पसका लागि एक शिक्षकको पनि व्यवस्था नभएको हिमज्योति माविका शिक्षक कविदत्त ढकालले बताए । उनले विद्यार्थीको फाराम लगाउने कार्यसमेत गर्दै आएका छन् । वार्षिक भर्ना शुल्क र परीक्षा दस्तुर गरी एकमुष्ट १२ हजार रुपैयाँ विद्यार्थीले बुझाउने गरेको र विद्यार्थी भर्ना, परीक्षाको फाराम भर्न र परीक्षाका बेला मात्र क्याम्पसमा आउने गरेको उनले सुनाए ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०७:५२