१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भ्रष्टाचारको नयाँ नयाँ तरिकाः गन्तव्य प्रवर्द्धनका नाममा पर्यटन बोर्डमा यसरी हुँदैछ ब्रह्मलुट


२९ पुस, काठमाडाैँ । नेपाल पर्यटन बोर्डमा भएको ५२ दिन लामो पर्यटन व्यवसायीहरुको आन्दोलन पछि २०७२ सालमा बोर्डमा नै जागीर खाइरहेका अधिकृत दिपकराज जोशी प्रमुख कार्यकारी अधिकृत भएपछि बोर्डको आन्तरिक व्यवस्थापनमा मजबुत हुनुको सँगसँगै व्याह्य व्यवस्थापन पनि राम्रो हुने आशा गरिएको थियो । तर बोर्डको पैसा जथाभावी बाँडेर सवैलाई खुशी पार्न सकिन्छ भन्ने भ्रमको जालोमा परेका जोशीको एउटा डरलाग्दो विषय बाहिर अाएको छ ।

बोर्डका कर्मचारीले कागजपत्र मिलाएर रकम हिनामिना गर्न अब्बल मानेका जोशीले भ्रष्टाचारको नयाँ तरिका प्रयोग गरेको खुलेको छ । बोर्डका कर्मचारीहरूका अनुसार नेपालको पर्यटन प्रचार गर्ने भन्दै जर्मनीका एक जना नागरिकको नाममा एक लाख अमेरिकी डलर भुक्तानी गराएर भगाइएको छ । तत्कालीन प्रमुख कार्यकारी अधिकृत जोशीले त्यसरी जर्मन नागरिकलाई पैसा दिएर भगाएको थाहा पाएपछि बोर्डका कर्मचारीको सल्लहमा अख्तियारमा उजुरी परेको र यही पाैष २१ गते अायोगको एउटा टोलीले बोर्डको कार्यालयमा छापा मारी उक्त निर्णयसँग सम्बन्धित फाइलहरू नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

जर्मन नागरिक माइकल कोबोल्डसँग मिलेर रकम हिनामिना गरेको फाइल अख्तियारले नियन्त्रणमा लिएपछि जोशीका सहयोगी कर्मचारीको समेत निद हराम भएको छ । विश्वका चर्चित कलाकारलाई नेपाल घुमाएर प्रचार गर्ने भन्दै रकम बुझेपछि जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन बनाइएका छन । उनले अमेरिकीबाट पुराना दमकल ल्याई हिमाली जिल्ला पुर्‍याएर नयाँ शैलीमा प्रचार गर्ने कार्यक्रममा सम्झौता गरेका थिए । नेपाल फायर ट्रक एक्सपिडिसन नामक उनको कार्यक्रमका लागि बोर्डले दुई लाख डलरमा सम्झौता गरेर एक लाख डलर सुरुमै दिएको थियो। सार्वजनिक खरिद ऐनअनुसार विनाप्रतिष्पर्धा यसरी सम्झौता गर्न मात्र होइन, शुरुमै आधा भुक्तानी गर्नसमेत मिल्दैन। तर जोशीले सहजै उक्त काम गरेका थिए ।

जोशीको विश्वास पात्रको रुपमा चिनिएकी प्रवन्धक श्रद्धा श्रेष्ठको पनि अख्तियारको छापा पछि तनाव निकै बढेको बुझिएको छ । बोर्डको बहालवाला कर्मचारी हुँदाहुँदै श्रद्धाले माइकल कोबोल्ड तर्फको साक्षीको हैसियतमा हस्ताक्षर गरेकीछन् । विभन्न संचार माध्यमहरुमा कोबोल्डको विषयमा समाचार आउँदा पनि कानून सम्मत कारबाहीको प्रक्रियाका लागि नेपाल प्रहरी लगायत अन्य निकायको सहकार्यका लागि पहल गर्नुको सट्टा जोशीले सवै कर्मचारीहरुलाई बोलाएर हप्की दप्की गर्दै सुचना बाहिर चुहाएमा बोर्डको सेवाबाट बरखास्त सम्म गर्ने धम्की दिएको र आफूले यस्तै जवरजस्तीमा परेर सही गरेको भन्दै बोर्डका एक कर्मचारीले बताएका छन ।

कोबोल्डलाई भुक्तानी दिएपछि अमेरीकामा भएको प्रवर्द्धनको कार्यक्रममा जोशीले आफ्ना अर्का विश्वास पात्रलाई पठाएका थिए । जोशीले यसको अतिरिक्त ट्रिपएडभाएजर, विविसीलाई समेत नियम विपरित पैसा भुक्तानी गरेको बुझिएको छ । आफ्नो कार्यकालमा अनियमित तरीकाले थुप्रै रकम भुक्तानी गरेका जोशीले आफ्नो कार्यकालको लेखा परीक्षण समेत गराएनन् । गत पौष ७ गते नै सेवाबाट अवकाश पाएका जोशी पुनः नियुक्ति पाउने अभियानमा लागेका छन ।

१२ खरीलाई २० लाख

बोर्ड स्रोतका अनुसार जोशीले पर्यटनमन्त्रीको निर्देशनमा १२खरी डटकमलाइ एभरेष्ट गल्फ खेलाएर पर्यटन  प्रवर्द्धन गराउने भन्दै २० लाख नगद भुक्तानी र संग्रिला होटलको बिल मार्फत भुक्तानी गरेका छन । यस विषयमा अख्तियारले चासो राखेको छ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार १३:२१