Logo

रावलजी जति आत्मकेन्द्रित, रवाफी र असहिष्णु मान्छे यो धर्तीमा अर्काे काेही छैनः सूर्य थापा



प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापासँग एभिन्युज खबरमा राजेन्द्र बानियाँले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।(सम्पादक

मान्छेहरु के भन्छन् भने बालुवाटारभित्र गइसकेपछि, सिँहदरवारभित्र गइसकेपछि आफ्नो पृष्ठभूमि सबै बिर्सिएर जे कामका लागि गएको हो, त्यो कामको तावेदारी गर्नुभन्दा पनि धेरै गर्छन्, सूर्य थापा कुशल पत्रकार, कुशल लेखक, कुशल युवा विचारक तर सिहदरवारभित्र गइसकेपछि खाली सत्ताको पक्ष र सत्ताको बचाऊमा लाग्यो भन्ने छ नि ?

– कुन विषय र कुन बुँदामा त्यस्तो भएछ ? म सोँध्न चाहन्छु ।

सरकारका विषयमा कोही बोलिहालेमा जाइ लाग्नुहुन्छ भन्छन् ?

– त्यो सरासर झुठ हो ।

म एक एक बुँदा भन्दै जाउँ ?
– भन्नु ।

जस्तो पछिल्लो समय तपाईले प्रयोग गरेको शव्दलाई मान्छेले के भने भन्दा बालुवाटारभित्र जनावारहरुको नाम बढी चल्छ कि क्या हो, तपाईले प्रयोग गरेको ढेँडु भन्ने शव्द, प्रधानमन्त्रीले अरिंगाल भएर लाग भनेको शव्द, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले प्रयोग गरेको छौडा भन्ने शव्द, यस्ता शव्दहरु त्यहाँबाट किन निस्कन्छन् भन्या ?

– प्रधानमन्त्रीले माहुरी बन्न पनि भन्नुभएको थियो । तर माहुरीको चर्चा गरेनन् मान्छेहरु । एकदम आतंकित भए र अरिंगाल शब्दसँग डराए । अरिंगाल बन भन्नुभएको होइन्, जाइलाग्नुपर्दा अरिंगालजस्तो बन्न भन्नुभएको हो । काम गर्दा माहुरीजस्तो बन भन्नुभएको हो । माहुरीजस्तो कर्मी र पौरखी बन मात्र भन्नुभएको हो प्रधानभन्त्रीज्यूले । तपाईले एकदम ठीक सन्दर्भबाट कुरा उठाउनुभएको छ । मैले ओली–प्रचण्डको एकत्वका विषयमा लेखिएको एउटा लेख, त्यहीभित्रको एक अंशलाई उधृत गरेर शेयर गरें । एकथरी सामाजिक सञ्जालमा सक्रिय मानिसहरु कस्ता छन् भने तिनीहरु लेखिएका एकलाइन पूरै पढ्ने धैर्यता राख्दैनन् । कसले लेखेको हो भन्ने बुझ्दैनन् । त्यहाँ तल त मैले लेखक(गंगा बीसी)को नाम पनि उल्लेख गरेको थिएँ । त्यो पनि बुझ्ने हैसियत राख्दैनन् । मैले नै कटाक्ष गरेको, मैले विरोध गरेको र अर्का अध्यक्ष कमरेडका विरुद्ध लेखेजस्तो गरी हल्लाखल्ला गरे । त्यो लेख अहिले पनि सँगसँगै सुरक्षित छ, जो हेर्न सकिन्छ ।

जुनसुकै लेखमा विषय विभिन्न हुन्छन् । त्यो लेख समकालीन राजनीतिक विषयमा विश्लेषण गर्नेहरुले लेखेकाहरुमध्ये एउटा उत्तम लेख हो भन्ने मेरो अहिले पनि बुझाइ छ । पार्टी एकता भइसकेपछि दुबै नेता मिलेर सरकार चलाउने, हिजो निषेधको विपरित सम्वन्ध भए पनि विपरितको एकत्वको बिन्दुमा आइपुग्नुभएको छ भन्ने विषय त्यसमा छ । लेख एकदम ठीक छ । त्यसको कुनै अंश मलाई मन परे होला, कुनै अरुलाई मन परेको होला, विभिन्न अंशका कुरामा त्यस्तो हुन्छ । मैले भन्न खोजेको एउटा सद्दे मान्छेले, दुई अक्षर लेख्न जान्ने मान्छेले, अरुको लेख शेयरर गरेकोमा त्यस ढंगको गालीगलौज गर्दैनन् । त्यो लेख पूरै पढ्न मैले गरेको हाइलाइटले काम गरेको अवश्य हो ।

त्यो हाइलाइट गराउन तपाई नियोजित रुपमा प्रयोग हुनुभयो भन्ने छ नि ?
– हाम्रो अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डविरुद्ध म किन प्रयोग हुनु ? प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएका नाताले प्रधानमन्त्रीले दिनुभएको कार्य जिम्मेवारीअनुसार चल्नुपर्छ भन्ने मैले जान्दछु । म आफ्नो जिम्मेवारी र हैसियत बुझेकै मान्छे हुँ । यी सबै मान्छेका आआफ्ना अनुमान मात्रै हुन् । केही व्यक्तिहरु अनावश्यक रुपमा धुर उठेपछि मैले जवाफ दिएकोचाहिं हो । जो जसरी प्रतिवादमा उत्रिन्छ, त्यसैगरी जवाफ त दिनुपर्छ ।

एउटा अध्यक्षलाई काख र अर्को अध्यक्षलाई पाखा लगाउने खालको शैली देखियो नि त ?
– त्यो सरासर गलत हो । दुबै अध्यक्षप्रति मेरो उत्तिकै सम्मान छ । पुष्पकमल दाहाल प्रचण्डका बारेमा मेरा आफ्ना बुझाइ छन् । मैले धेरै लेखेको पनि छु । कतिपय सन्दर्भमा उहाँका चिजहरु मलाई सान्दर्भिक लागेनन् भने मैले कटाक्ष पनि गर्ने गरें । त्यो चाँहि आज नबोलेको भए हुन्थ्यो भन्ने सन्दर्भमा भएको छ । उहाँको सार्वजनिक सम्मान, उहाँको योगदान, शिष्टाचार, पार्टीको अध्यक्षका रुपमा मेरो नेता, पार्टीमा आम रुपमा नेतृत्व गर्नेगरी भूमिका निर्वाह गर्नुभएको छ, सरकारलाई सफल पार्न व्याकिङ गर्ने भूमिकामा हुनुहुन्छ । पार्टी एकतामा दुबै नेता नभएको भए हिजो संयुक्त विज्ञप्ति मात्र होइन, संयुक्त अपानि तयार भएर पनि त एकता हुन सकेको थिएन नि ! नेतृत्वको भूमिका कति हुन्छ भन्ने हामी बुझेकै मान्छे हौँ । नेतृत्वमा पनि ऐन मौकामा निर्णय लिनसक्ने र गर्नसक्ने, त्यसढंगको बोल्डनेस भएको नेतृत्वको कति महत्वपूर्ण भूमिका हुन्छ भन्नेमा पनि हामीलाई कुनै भ्रम छैन् । मानिसहरु बुझ्दै नबुझी लडाउन र दूरी बढाउन लाग्छन्, जबकि पुष्पकमल दाहाल प्रचण्ड र मेरो पुस्ता नै फरक हो । उहाँ नेता हो, म कार्यकर्ताजस्तै हो ।

भीम रावलसँग पनि तपाईको पुस्ता फरक हो नि ?
– भीम रावल कुन जेलमा पर्नुभयो ? कुन पर्चा छर्नुभयो ? त्यसमा मलाई भन्नु जरुरी छैन् । उहाँको बायोग्राफी उहाँले र उहाँका शुभेच्छुकले लेख्ने हो । म प्रष्ट के जान्दछु भने भीम रावल २०५४ सालदेखि हाम्रो पार्टीको केन्द्रीय सदस्य हो । म त्यति मात्रै जान्दछु ।

तर त्यति पढेको मान्छेलाई राष्ट्रवादको बारेमा बुझेर लेखिरहेका छौँ कि नबुझेर भन्नुभयो नि ?
– उहाँको कालो धुँवा कविता त प्रश्नै गर्ने खालको छ नि त ! म कविताको पाठकका हिसाबले भनिरहेको छु । उहाँका दुईवटा कविता छन्, एउटा मन प¥यो, अर्कोचाँहि तथ्यसँगत पनि छैन् । तथ्यमा आधारित त छँदैछैन । उहाँले २०५६ सालमा लेखेको कविता लिम्पियाधुरा पढ्दा यो लेख्ने कवि र तपाई एउटै व्यक्ति हो भनेर मैले प्रश्न गरेको यथार्थ हो ।

पार्टीको स्थायी कमिटीमा छलफल भएको छ । उहाँले त्यहाँ कविता पढ्नुभएको छ । तर सामाजिक सञ्जालमा तपाईले लेख्नुपर्ने कारण के नि ?
– उहाँले सार्वजनिकरुपमा बाँडिसकेपछि मैले तदनुरुप नै प्रतिक्रिया दिएको हुँ । सामाजिक सञ्जालमै पढेर, सामाजिक सञ्जालमै जवाफ दिएको हो मैले पनि ।

तपाईलाई प्रधानमन्त्रीले यस बारेमा आलोचना गर्नुस् भन्नुभाथ्यो ?
– मानिसहरुलाई यति फुर्सदिलो ठान्छन् प्रधानमन्त्रीज्यूलाई ? एउटा कविताको बारेमा समालोचना गर्नसक्ने, त्यसको अन्तरवस्तु, त्यसको आशय बुझ्नसक्ने हैसियत भएको र चार अक्षर पढेरै यहाँसम्म आएको मान्छे हुँ म ।

तर, राजनीतिक उचाई र राजनीतिक कदका हिसाबले भिम रावलको आलोचना गर्ने बेला भएको छैन भन्छन् नि ?
– त्यसमा आलोचना कहाँनेर छ ? उहाँको कवितामा गालीगलौज छ, जथाभावी छ र कुण्ठा छ । मैले लेखेकोमा दुईवटा कवितामा अन्तर छ भनिएको छ । लिम्पियाधुरा लेखेको कवि र तपाई एउटै हो कि होइन ? मलाई कन्फ्यूज भो भनेर सोँधेको मात्र न हो त्यहाँ । यो कुरा किन भनेको छु भने पोलिटिकल कन्टेस्ट हुन्छ । जस्तोकि सिके राउतलाई बिखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा ल्याउँदा कसैको चित्त किन दुख्छ ? बिखण्डनको राजनीति छाडेर मूलधारमा आउनेहरुलाई जुन देशले पनि स्वागत गर्छ र गर्नुपर्छ । सिके राउतलाई ल्याउने विषयमा पनि उनका केही बाछिटाहरु के उत्पन्न भए भन्ने मुख्य कुरा होइन । मूल कुराचाँहि सिके राउतको समूह कताबाट कतातिर फर्कियो, कुन बाटो लियो र कहाँ आयो भन्ने नै हो ।

उहाँ छुटेर गइसकेपछि जनकपुरमा दुईवटा मुलुकका सरकार प्रमुख जस्तैगरी हस्ताक्षर गरेर राष्ट्रिसभा गृहमा कार्यक्रम गरेपछि उहाँलाई जुन प्रकारको स्वागत गर्दा नारा लगाइयो, त्यसबेला कानमा औँला हालेर बस्नुभएको थियो ?
– ती सबै नोटिसमा थिए । तातेको फलाम पनि पानी हाल्नेबित्तिकै चिसो भइहाल्दैन नि त ? च्वाईऽऽऽय गर्छ, त्यसले आवाज निकाल्छ, धुँवा निकाल्छ र अरु प्रतिक्रिया निकाल्छ नि । मूलकुरा उहाँ कहाँबाट कहाँ आउनुभयो भन्ने नै हो ।

राजपासँग किन छलेर लुकिछिपी सहमति गरेको त ?
– किन लुकिछिपी गर्नु ? स्थायी कमिटी, सचिवालय, पार्टी सबैको जानकारीमा यो गर्ने त हुँदैन । स्थायी कमिटीका सबै सदस्यहरुलाई सबै कुरा थाहाँ नहुन पनि सक्छ । मूल कुरा कन्टेन्ट र कन्टेक्स्टको कुरा हुन्छ । उपलव्धिको कुरा हुन्छ । त्यसले के प्रतिफल दिन्छ भन्ने पनि हुन्छ । प्रदेश नं २ मा नेकपाको राष्ट्रिय सभामा शून्य स्थान थियो । चार स्थानमा निर्वाचन हुँदैछ । २ स्थान राजपालाई र २ स्थान नेकपालाई गरेर सहमति भयो । राजपाको नेतृत्वसँग सहमति भएको छ । उपस्थित राजपाका धेरै नेताहरुलाई त्यहाँ देख्न सक्नुहुन्छ नै ।

राजेन्द्र महतोलाई यतिधेरै गुण लगाउनुपर्ने कारण के प¥यो ?
– राजेन्द्र महतोलाई गुण लगाउने विषय नै होइन यो । राजनीतिक पार्टीले आफ्नो हित हेर्छ नै । शून्य भएको ठाउँमा २ स्थान राजपासँग मिल्दा आउने निश्चित भएपछि त्यसले हित गर्छ भने किन किन्तु परन्तु ? यस्ता सम्झौता विषयगत हुन्छन् । यस्ता सम्झौताहरु सान्दर्भिकताका आधारमा हुन्छन् र गरिन्छन् ।

थाल ठटाएर एमालेमुक्त मधेस बनाइन्छ भनेर आएको राजेन्द्र महतो हो कि होइन ?
-हिजो कसका के सन्दर्भ थिए, कसले के भन्यो भन्ने होइन् । राजेन्द्र महतोजी आफ्नो हितका लागि २ सिटका लागि सहमति गर्न आउनुभयो । नेकपाले २ सिटका लागि सम्झौता गरेको हो । स्थायी कमिटीलाई सहमति जानकारी गराइएकै छ । भीम रावलजी सम्झौताको प्रक्रिया र वार्ताको प्रक्रियामा हुनुहुन्थेन नि त । उहाँको जिम्मेवारी त्यो थिएन नि त । सबै कुरा सबैलाई थाहा नहुन पनि त सक्छन् । पार्टीका दुबै अध्यक्षसहित नेतृत्वले पार्टीको हितका लागि गरेको निर्णय मलाई थाहा नभएर वा अरु कसैलाई थाहा नभएर के फरक प¥यो ? आफूलाई तोकिएको परिभाषित जिम्मेवारी कहाँ छ ? त्यसले पनि त निर्धारण गर्छ नि ! म प्रचार विभागमा छु, तपाइसँग कुरा गर्छु, तर म प्यूठानको इन्चार्ज थिएँ भने त तपाईसँग यसरी कुरा गर्दिनथें नि ।

तोकिएको जिम्मेवारीका कुरा गर्दा तपाई को हो यसरी अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप गर्ने ? पार्टीका विषयमा बोल्नुपर्दा मैले सूर्य थापालाई सोध्नुपर्ने भन्नु भाछ ?
– उहाँले के भन्नुभयो म त्यसको सवालजवाफमा जादिनँ । उमेरका हिसाबले, राजनीतिक पुस्ताका हिसावले उहाँ र म फरक हाँै । केन्द्रीय कमिटीमा उहाँ र म समान हौँ । उहाँ स्थायी कमिटीमा हुनुहुन्छ, म केन्द्रीय कमिटीमा छु, त्यस हिसाबले उहाँ सिनियर हो । परिभाषित कामका हिसावले उहाँ सुदुरपश्चिम इन्चार्ज हो । म प्रचार विभागको उपप्रमुख हुँ । सीमा मिच्ने कुरा भारतले मिच्दा पनि उस्तै हो, रावलजीले मिच्दा पनि उस्तै हो । मैले यही भनेको हो । प्रचार विभागको काम प्रचार विभागमा तोकिएकै मान्छेले गर्ने हो । रावलजीलाई तोकिएको काम मैले गर्न हुँदैन । पार्टीमा यही भएर त कार्यविभाजन गरिएको होला ।

मैले भनेको विभागको मर्यादाको कुरा, कामको कुरा, परिभाषित जिम्मेवारीको कुरा हो । उहाँले आफ्नो विचार राख्नुहुन्छ, अन्तरवार्ता दिनुहुन्छ, कुरा गर्नुहुन्छ, मैले यो राय राखे भन्नुहुन्छ, कविता वाचन गर्नुहुन्छ त्यसमा हामीले के आपत्ति गरेका छौ र ? तर वैठकमा के निर्णय भयो वा कसो भयो भन्ने कुरा सुनाउने कुराचाँहि प्रवक्ता नारायणकाजी श्रेष्ठले नै हो । उहाँ नहुँदाका अरु प्रवन्ध हुन्छन् । कहिले महासचिवले भन्नुहुन्छ । प्रचार विभाग प्रमुखसँग सल्लाह गरेर कहिलेकाँही मैले गर्ने पनि सन्दर्भ आउछ । तर पार्टीका स्थायी कमिटी, सचिवालयले गरेका निर्णय सार्वजनिक गर्ने त विधान र नियमावलीले प्रवक्ता र प्रचार विभाग प्रमुखलाई जिम्मेवारी तोकेको छ ।

तपाईलाई आरोप उहाँको मात्रै होइन्, कति मान्छेले के भने भने सूर्य थापालाई मन नपरेपछि यति धेरै खेद्नुहुन्छ, एउटा व्यक्तिका पछाडि कि सबै चिज सीमा छाड्नुहुन्छ, उहाँ अर्को नेताको सिंगो दाहिने हात हो । त्यही हिसाबले पनि उहाँ बामदेव गौतमलाई चुनाव हराउन लाग्नुभएको थियो भन्ने आरोप छ नि ?
– कुनचाँहि नेताको दाहिने हात रहेछु म ? त्योचाँहि मेरो जानकारीमा नभएको, तर तपाईको जानकारीमा भएको रहेछ ! मलाई पनि जानकारी गराइदिनुभयो भने म धन्य हुने थिएँ ।

तपाइलाई ईश्वर पोखरेको दाहिने हात हो भन्छन् ?
– यो चाँहि विचरा मानिसहरुको पूर्वानुमान मात्रै हो ।

तपाई हैसियतवाला नै हुनुहुँदो रहेछ नि ? काठमाडौँमा बसेर बर्दियामा बामदेव गौतमलाई चुनाव हराइदिनुभयो ?
– कृष्णप्रसाद भट्टराईले एउटा सन्दर्भमा विजयकुमार पाण्डेसँगको अन्र्तवार्तामा भन्नुभएको छ – यी अखवारहरुले मेरो ७४ वर्षको उमेरमा यतिधेरै महिमागान गरिरहेका छन् । जबकि मेरो दुःख त मलाई नै थाहा छ ! काठमाडौँ निर्वाचन क्षेत्र ५ को निर्वाचन परिचालन कमिटीको म संयोजक थिएँ । म केन्द्रीय कमिटीको सदस्यका हैसियतले र पार्टी महासचिव ईश्वर पोखरेल त्यहाँ उम्मेदवार हुनुहुन्थ्यो । संयोगले भीम रावलजीको भिनाज कोलोनी यसै क्षेत्रभित्र पर्छ । म प्रतिनिधि र प्रदेश सभा सदस्यका तीनैजना उम्मेदवारहरुलाई भारी मतले जिताउन लागिपरेको थिएँ । परिणाममा १० हजारको हाराहारी मतान्तरले ईश्वर कमरेडले जित्नुभयो । म त्यसरी जिताउन तल्लीन थिएँ । तपाईलाई स्मरण गराउन चाहन्छु, १७ गते मेरो भान्जाले सुसाइड गर्दा पनि भोलिपल्ट चितामा भान्जालाई चढाएर म अन्तिम चुनावी सभामा बसुन्धाराको कार्यक्रममा पुगेर आफ्नो जिम्मेवारी बहन गर्ने काममा सक्रिय छु ।

त्यस्तो दुःखको बेलामा अर्कोलाई जिताउन र हराउन पनि सोच्न भ्याउनुभयो ?
– परपीडकहरु, आफ्नो हैसियत नभएकाहरु र स्याडिस्टहरुले त्यस ढंगका आरोप लगाउँछन् । तर, मेरो भनाई के हो भने चारपटक, पाँचपटक सुनें भनेर जुन रावलले लेख्नुभएको छ नि, उहाँ नेकपा (एमाले)कै स्थायी कमिटीमा हुनुहुन्थ्यो त ! बीचमा मसँग उहाँकै घरमा कुरा गर्दा एकदम गलतढंगले वामदेवले कुरा उठाएकोसमेत भन्नुभएको थियो । उहाँकै घरमा यस्तो कुरा भएको थियो । अहिले उहाँसँग मेरो व्यक्तिगत केही समस्या छैन । उहाँ मेरो नेता नै हो । हुन त उहाँले दश मनिाकोे हुनुहुन्थ्यो म जेल पर्दासमेत भन्नुभएछ । यति पिछएिको मनोदशा बोकेको मान्छे उहाँ रहनुभएको जानकारी भयो । उहाँलाई म स्मरण गराउन चाहन्छु, उहाँ तत्कालीन अन्तरिम मन्त्री झलनाथ खनालको स्वकीय सचिव हुनुहुन्थ्यो । उहाँ चारपटक मन्त्री र उपप्रधानमन्त्री भइसक्नुभयो । उहाँका जिम्मेवारीका बारेमा मैले केही कमेन्ट गरेको छैन । उहाँ हाम्रो नेता नै हो । अध्ययनशील मान्छे हो । ऐकेडेमिक पनि मान्छे हो । उहाँले लेखेको नेपालमा साम्यवादी आन्दोलन ः उदगम र विकास पुस्तक धेरै नेताहरुले पढेका छौं । तर, उहाँ जत्तिको आत्मकेन्द्रित, रवाफी र असहिष्णु मान्छे यो धर्तीमा छैन भन्ने कुरा यहाँ स्पष्टै देखिन्छ । मैले खाली विधि, प्रक्रिया र परिभाषित कामको कुरा गर्दा उहाँले सार्वजनिक रुपमा प्रतिक्रिया दिएका शव्दहरु मैले हेरेको छु नि सार्वजनिक रुपमै !

पत्रकारिता भन्ने कि पार्टीकारिता ? मलाई थाहा भएन । तपाईले लेख्ने काम निकै बढी गर्नुभयो । साहित्य लेखन, विधि लेखन पनि गर्नुभा’छ । त्यसैले तपाईलाई लेखक भन्न सजिलो हो ?
– तपाईहरुले जसरी हेर्नुहुन्छ, त्यसै होला । नजर त तपाईहरुको हो नि त !

तर पार्टीमा लाग्ने, पार्टीको नेता हुने अनि पत्रकार हुँ भन्नुभन्दा पार्टीकार हुँ भने हुनेजस्तो मलाई लाग्यो ?
– नेपालमा केही कर्पोरेट मिडियामा काम गर्ने, पार्टी र संगठनसँग साइनो सम्बन्ध नभएका पछिल्लो पुस्ताका मान्छेहरुले तपाईले भनेको कुरा गर्न सुहाउँछ । नत्र आजको पत्रकारिता, आजको स्वतन्त्र समाज, आजको खुला समाज, आजको लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कसको कति योगदान छ भन्ने कुराको समीक्षा र अनुसन्धान गरे भइहाल्यो नि !

मेरा बाजेले घ्यू खाएका थिए, मेरो हात सुँघ भनेर हुन्छ ?
– मेरा बाजेको कुरा होइन, हामी आफ्नै पुस्ताको कुरा गरेको मैले । किन बाजेको कुरा गर्नु ?

बालुवाटारको सरकारी निवास । त्यसमा मेरो करको पनि पैसा परेको होला । बालुवाटारमा पाक्ने चियामा पनि मेरो करको पैसा परेको होला । अनि पार्टीको सपथ खुवाउने काम, त्यो पनि सार्वजनिक संचारमाध्यममा काम गर्ने संचारकर्मीलाई मुठी बाँधेर सपथ खुवाउने कुराको कति आलोचना भा’छ है ?
– तपाईंले यस विषयमा तथ्यमा रहेर कुरा गर्नुभएन । एउटा पत्रकार भएर निरंकुशताका पक्षमा सपथ खायो, मुठी उठायो भने तपाई संवेदनशील र चिन्तित हुनुस् । नेकपाका २२ जनवर्गीय संगठनहरुमध्ये एउटा प्रेस संगठन नेपाल पनि हो । त्यसमा आमरुपमा लेख्ने, पढ्ने र संचारकर्ममा रहेका मानिसहरु आफ्नो इच्छाले संगठित छन् । पेशागत रुपमा रहेका पत्रकारितामा क्रियाशील व्यक्तिहरुलाई हामी त्यस संगठनमा संगठित गर्छौ । त्यसमा तपाई भ्रमित हुनुपर्ने किन जरुरत छैन भने त्यहाँ कुनै कुरा लुकाइएको छैन । त्यो संगठनले बाहिरै राखेको कार्यक्रम हो । तर देशभरिबाट आएका संचारकर्मीहरुले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम पनि थियो । सपथ लिने जम्मा २५१ जना न थिए, अरु त सबै संचारकर्मीहरु थिए । सबैले सपथ लिएको पनि होइन । प्रधानमन्त्रीलाई स्वास्थ्य समस्या रहेका कारण डाक्टरहरुले बाहिर जान अनुमति दिनुभएको थिएन । उहाँहरुले पूर्वनिर्धारित गरिसकेको कार्यक्रम थियो, एपेन्डिसाइटिसको अप्रेशन हुनुभन्दा अगाडि नै । कार्यक्रम हामीले सिंहदरवारमा गरेको त होइन, निवासमा गरेको हो । प्रधानमन्त्रीलाई बाहिर जान चिकित्सकहरुले अनुमति नदिइरहेको बेला देशभरिबाट आएका पत्रकारहरुलाई बोलाएर चिया खुवाउने कुरामा के को आपत्ति र किन विरोध ?

नेपाली कांग्रेस समर्थित प्रेस युनियन, हुनतः प्रेस यूनियनको अधिवेशन समयमा हुँदैन । तर शेरबहादुर देउवाले युनियनका मान्छेलाई त्यहाँ सपथ गराउन मिल्छ ?
– प्रधानमन्त्री हुँदा त्यसबेला गराउनुभएको कि गराउनुभएन ? त्यो हामीलाई थाहा भएन । तर अहिले त उहाँले कसरी पाउने ? प्रधानमन्त्री निवासमा विपक्षी दलका नेताले सपथग्रहण गराउन कसरी मिल्छ ? विपक्षी दलको नेताको निवास होइन, प्रधानमन्त्री निवास हो नि ! फेरि अहिले प्रधानमन्त्रीज्यू पार्टी अध्यक्ष पनि हुनुहुन्छ । प्रधानमन्त्री मात्र त नबुझ्नु न ! स्वास्थ्य समस्याका हिसावले बाहिर जान नसक्ने भनेर त मैले भनिसकें । गिरिजाप्रसाद कोइराला जब अस्वस्थ हुनुहुन्थ्यो, त्यसबेला नेपाली कांग्रेसका कार्यक्रमहरु कहाँ हुन्थे ? तसर्र्थ, दुबैको स्वास्थ्यको समस्याकै कारण यसो भएको हो ।

स्वास्थ्यकै कारणले ट्वीट विग्रेको हो ?
– पासवर्डको मिस ह्याण्डलिङका कारण रिट्वीट भएको हो । अहिले प्रहरीले यसको अनुसन्धान गरिरा’छ । प्रधानमन्त्रीको मात्र होइन, विश्वमा धेरैको ट्वीट ह्याण्डलिङमा समस्या हुने गरेको पाइन्छ ।

संयोगले तपाइको सुपुत्र हामीसँग नै हुनुहुन्छ, हामीले देखाउन मिल्दैन । तपाईको पासवर्ड छोरासँग छ ? कम्युनिष्टहरुले धर्मपत्नी भन्दैनन् क्यारे, तपाईहरु जीवनसंगिनी भन्नुहुन्छ ? उहाँसँग छ तपाइको पासवर्ड ?
– छोरा वा जीवनसंगिनी कसैसँग छैन मेरो पासवर्ड । म सँग मात्रै छ ।

प्रधानमन्त्रीको पासवर्ड को को सँग हुन्छ ?
– प्रधानमन्त्रीको पासवर्ड सदुपयोग भयो कि दुरुपयोग भन्ने कुरा १३ मिनेट नबित्दै थाहा पाएपछि मैले पव्लिक नोटिस गरें । तर प्रधानमन्त्रीको पासवर्ड कसले राख्नुहुन्छ, उहाँको ट्वीट कसले ह्याडलिङ गर्नुहुन्छ ? म त्यो कुरा भन्न बाध्य छैन ।

बालुवाटार राष्ट्रिय जनावर यती भइदिए हुन्थ्यो भन्ने ठान्छ रे है ?
– मानिसहरुलाई भ्रम त्यस्तो पर्नसक्छ । ती स्वपनदर्शीहरुलाई, त्यस्ता परिकल्पनाकारहरुलाई के भनौँ मैले ?

पासाङ ल्हामु शेर्पा जतिबेला सगरमाथा आरोहण गर्न जादै हुनुहुन्थ्यो, त्यतिबेला तपाईको पार्टीको महासचिव मदन भण्डारी, उहाँले चाँहि पार्टीको झण्डा हस्तान्तरण गर्नुभएको थियो । संभवतः उहाँले सगरमाथामा फहराउनु पनि भयो । तर फर्किने क्रममा पासाङ ल्हामुको निधन भयो । त्यही बेलाको सेरोफेरोमा मदन भण्डारीको पनि निधन भयो । त्यहाँबाट शुरु भएको यती र नेकपा (एमाले)को सम्बन्ध । पासाङ ल्हामु प्रतिष्ठानकै भवनमा एमालेको पार्टी कार्यालय बस्नेहुँदै, गोकर्ण रिसोर्टहुँदै, राजदरबार अगाडिका भवनहुँदै, आज चाँहि हुनेभए स्पेनको राजदूतसम्मै ! एउटा घरानासँग यतिधेरै लगाव किन भाको ?

– त्यसमा कानुनबमोजिम गर्नुपर्नेमा कहाँनेर गल्ती भयो ? पासाङ ल्हामुलाई त्यतिबेलाको सत्तापक्षले विदाई गर्न नचाहँदाको स्थितिमा विदाई गर्नुभयो, शुभकामना दिनुभयो जननेता मदन भण्डारीले । सरकारले नगरेको काम उहाँले गर्नुभयो । पासाङ ल्हामु नेपालमा महिला आन्दोलनमा भन्दा पनि नेपाली महिलाहरुले विश्वको सर्वोच्च शिखर चुम्ने पहिलो महिला बन्नुभयो । त्यसकारण मदन भण्डारीले दिनुभएको शुभकामना, सतपात्रलाई नै शुभकामना दिनुभएको रहेछ भन्ने स्पष्ट छैन र ! उहाँकी छोरी पनि इन्टरनेश्नल रिलेशनमा पढेर, सुनेर, जानेर, आएको योग्य मान्छेलाई सरकारले राजदूत नियुक्त ग¥यो । अर्को कुरा, बल्खुस्थित पार्टी कार्यालय भुकम्पले ध्वस्त भयो, हामी कार्यालय खोज्ने क्रममै थियौँ । कयाँै महिना हामी टेण्टमै बस्यौँ । र, भाडामा पासाङ ल्हामु फाउण्डेशनको कार्यालय लिइएको हो । कति भाडा भन्ने कुरा सार्वजनिक रुपमै देखिन्छ नि ! गोकर्ण रिसोर्ट यती समूहलाई हामीले दिइएको होइ् । नेकपाको सरकारले दिइएको होइन । २०५२÷५३ सालमा ५० लाख डलरमा सिंगापुरको कम्पनीले तत्कालीन राजप्रसादबाट लिजमा लिएको थियो । नेपाल ट्रस्टमा आइसकेपछि २०६७ साल वैशाखमा सिंगापुरको कम्पनीले बेच्दा यती समूहले लिइएको देखिन्छ । कानुनी प्रक्रिया, त्यसका मापदण्ड पूरा गरेरै लिइएको छ ।

नेपाल ट्रस्ट ऐनमा थप लगानी गर्दा र थप पूर्वाधार बनाउँदा समयभन्दा अगावै पनि लिज अवधि बढाउन सकिन्छ भन्ने प्रष्ट व्यवस्था रहेको छ । २०७५ सालमा ऐन संशोधन भयो । पुरानो ऐन हुँदा धेरै सचिवहरु पदेनजस्तो हुने, तर वैठक पनि नबस्ने स्थितिमा नेपाल ट्रस्ट थियो । तोकिएका, परिभाषित र जवाफदेही व्यक्ति हुनेगरी सदस्यहरु नियुक्त हुने व्यवस्था ऐनकै हो । मन्त्रीहरुमध्ये एक जनालाई तोक्ने व्यवस्था छ, त्यसअनुसार नै उपप्रधान एवं रक्षामन्त्रीलाई तोकिएको हो । कसैलाई हटाएर नयाँलाई ल्याइएको होइन । दरबार अगाडिको संरचना कसले लिजमा दियो ? तपाईले सातपुस्ता खोजी गर्नुस् । ताहचलको कसले लिजमा दियो ? तपाई दशपुस्ता खोजी गर्नुस् । गोकर्ण रिसोर्टमा ४ सय मान्छे अटाउन सक्ने क्षमताको हल र ४८ वटा कोठा नयाँ पूर्वाधार थप्ने, त्यसनिम्ति २९ करोड लगानी गर्नेगरी सम्झौता भएको हो । सार्वजनिक रुपमा सेवाको उद्योगको रुपमा खोलिएको रिसोर्टमा देशीविदेशी जसले पनि त्यहाँ वैठक, कार्यक्रम गर्न सक्छन् । नेकपाले गर्न सक्छ, कांग्रेसले गर्नसक्छ् र अरुअरु पार्टीले गर्न सक्छन् । पार्टीगत रुपमा यती समूह र नेकपाको के विशेष सम्बन्ध भयो र ? यस्ता नियोजित प्रचारबाजीको केही अर्थ छैन ।

एमसीसीमा सरकार र सरकारका मान्छेहरुले चाहिनेभन्दा धेरै झुटो बोले भन्छन् त ?
– नेपालले सन् २०१७ समा एमसीएलाई स्वीकार ग¥यो । ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री हुँदा । यो पाँच वर्षको आवधिक कार्यक्रम हो । यस हिसाबले हामीले एमसीएलाई बुझ्नु प¥यो ।

परराष्ट्रमन्त्री, सरकार प्रवक्ता र तपाईहरुले नै यसलाई आइपिएसको अंग होइन भनिरहनुभा’छ, तर अमेरिकी दूतावासले हो भन्यो त ?
– मान्छेलाई के लाग्यो ? मनमा के कुरा पालिएको हुन्छ ? हामी सवैको मनको जवाफ दिन भ्याउँदैनौ । अमेरिकी दूतावास बोलेपनि, राष्ट्रपति ट्रम्प बोलेपनि, एमसीएमा जे कुरा लेखिएको छ, जे कुरा स्वीकार गरेका छौँ, त्यो कुरा नै हामीले भन्ने मान्ने हो । पछि व्याख्या कसले के कस्तो गर्नुहुन्छ ? त्यो उहाँहरुको कुरा हो ।

प्रधानमन्त्रीको एउटा अन्र्तवार्ता तपाईलाई सम्झना होला । तपाईको स्मरणशक्ति अत्यन्तै राम्रो छ । संसद्मा एमसीसी पास गर्न सभामुख कृष्णबहादुर महराले नमानेको हो भन्ने आशयको विषय उहाँले भन्नुभएको थियो ।
– प्रधानमन्त्रीज्यूले त्यो अन्र्तवार्ता दिँदापनि म सँगै थिएँ । मैले सुनेको पनि हुँ । ट्रान्सकाइब भएर सार्वजनिक रुपमा प्रकाशन पनि भएकै छ । यो कुरा मेरो नोटिसमा नहुने कुरै भएन । पहिलो कुरा त एमसीसी र एमसीएलाई गोलमटोल पारेर बुझ्नु भएन । नेपालका सन्दर्भमा हामीले गरेको एमसीसी होइन एमसीए हो । हामीले एमसीसी स्वीकार गर्दा इण्डोप्यासेफिक स्ट्राटेजी कुनै अस्तित्वमा थिएन । अहिलेचाँहि इण्डोप्यासेफिक हो भनेर बल गर्नुपर्ने कारण किन ? यो प्रश्न सोध्न चाहन्छु । अमेरिकी दूतावासको एकजना अधिकारीले त्यसरी बोले रे । अमेरिकी राजदूतले अहिलेसम्म इण्डोप्यासेफिक स्ट्राटेजी हो भनेर बोल्नुभएको त छैन । कुनै सैनिक अखडा गरेर होइन, नेपाल भारतबीचको विद्युत प्रशारण लाइन र सडक मर्मतको काममा खर्च गर्नेगरी अनुदान सहयोगको कुरा हुन्छ भने नेपाल त्यसमा पिठ्यू फर्काएर हिड्नुपर्ने के कारण छ ? म चरा भइदिएको भए आकाशमा उड्थें भन्नेजस्ता कुरा किन गर्ने ?

सीमाको विषयमा चाँहि ‘यो सम्झिने मन छ, म विर्सू कसरी?’ हामी भन्छौँ । तपाइहरुचाँहि ‘यो विर्सने मन छ तिमी सम्झाउछौँ कति’ भन्ने हो ?
– सीमाको समस्या कालापानीमा भारतीय सेना छ भन्दै सार्वजनिक गर्ने तथा लिखित रुपमा ध्यानाकर्षण गर्ने व्यक्ति को हो सम्झनुहुन्छ ? पहिले प्रेमसिंह धामी संसद्मा बोल्नुभयो । पार्टीले संसदीय दलले गठन गरेको अध्ययन कार्यदलको संयोजक को हो ? त्यसको नोटिसका निम्ति तत्कालीन नेकपा (एमाले)को संसदीय दलको कार्यदलको संयोजक हाल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । नेपाल र भारतवबीच दुई बुँदामा सीमा विवाद टुंग्याउन बाँकी छ – कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ता क्षेत्रमा । ती दुई बुँदामा पनि प्रधानमन्त्रीको तहमा विगतमा भएको छलफलमा परराष्ट्र सचिवस्तरीय विशेष संयन्त्रमार्फत ती दुई ठाउँको छिटो टुंग्याउने भन्ने सहमति भएको थियो । पछिल्लो समयमा भारतले एकतर्फीरुपमा नक्सा सार्वजनिक ग¥यो । हाम्रो परराष्ट्र मन्त्रालयले एकतर्फी रुपमा सार्वजनिक कुनै नक्सा स्वीकार्य छैन् भनेर भनिसकेको छ । प्रधानमन्त्रीज्यूले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाएर छलफल गर्नुभयो । र, राष्ट्रको एकढिक्का दृष्टिकोण बनाउनु भयो । यसको समाधान उहाँकै नेतृत्वमा हुन्छ ।

अन्तिममा, तपाई बालुवाटार भित्र नभएको भए नेकपाको केन्द्रीय सदस्यका रुपमा बडो अभागी केन्द्रीय सदस्य हुनुहुँदो रहेछ है ?
– किन ?

कमिटीको बैठकै बस्न नपाउने ?
– हामीले तीनवटा वैठक गरिसक्यौँ त ! चौथो बैठक पुस २३ देखि गर्ने भनिएको थियो माघ १५ गतदेखि सारिएको छ । नेकपाले वैठक गर्दैछ । त्यस बैठकमा महत्वपूर्ण निर्णय हुँदैछन् । राष्ट्रिय सभाको चुनाव मनोनित हुनेगरी गर्ने होइन नि ! ७६१ जना जनप्रतिनिधीहरुले मतदान गर्ने हो । एकल संक्रमणीय पद्दतिअनुसार निर्वाचन हुने हो । हाम्रो कमजोरी कहाँनेर हो भने पुस २३ गते वैठकको मिति तोक्दा नेतृत्वले राष्ट्रिय सभाको निर्वाचन पनि छ । समय अलिक ख्याल गर्नुपर्दथ्यो भन्ने कुरामा ध्यान नपुगेकै हो । दुईजना अध्यक्ष बीचमै सहमति भएर बैठकको मिति तोकिएको हो । दुबै जनाकै सहमति भएर सचिवालयले सारेको हो । सार्ने निर्णय संस्थागतै रुपमा भएको छ । २०४५/०४६ देखि ३६ को आकारमा अघि बढेका दुईवटा पार्टी २०७५ मा आइपुग्दा ६३ को आकारमा एकतावद्ध भएका छन् । दुईवटा आन्दोलन, दुईवटा धार एक भएका हुन् । सभामुख र प्रधानमन्त्रीको लेनदेनको रुपमा तर्क गरिनु नबुझ्नेहरुको तर्क मात्रै हो ।

दुईवटा नेताले पार्टी त वन्धक बनाउनुभयो बनाउनुभयो, संसद् पनि बन्धकजस्तै बनाउनुभयो भन्ने छ त ?
-बन्धक भन्ने छैन् । संसद्ले सभामुख पाउँछ । जनताको सकरात्मक आलोचनालाई अन्यथा रुपमा त लिनुहुँदैन्, तर संसद्ले सभामुख पाउने निश्चित छ ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०९:५३
प्रतिक्रिया दिनुहोस्