चाकुले तताउँछ शरीर

२९ पुस, काठमाडौं । नेवार समुदायमा ‘घिउ चाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाउने गरिए पनि अब यो सबैको साझा भएको छ । माघको पहिलो दिन विशेष रूपमा घिउ, चाकु र तिलको लड्डु खाएर मनाइन्छ ।

टोखाको प्रसिद्ध चाकुले माघे सङ्क्रान्तिमा विशेष महत्त्व राख्ने गरेको छ । चाकुसँग घिउ, तिलको लड्डुसँगै अनेक परिकार बनाएर खाने चलन छ । माघे सङ्क्रान्ति मनाउनुको वैज्ञानिक कारण रहेको संस्कृतिविद्को भनाइ छ । संस्कृतिविद् चुन्दा वज्राचार्यका अनुसार माघ महिनाको चाकु खाँदा शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि हुन्छ ।

उनले माघे सङ्क्रान्तिमा काँचो घिउ र चाकु खाँदा शरीरलाई तापसँगै शक्ति प्राप्त हुने जानकारी दिइन् । “अहिलेजस्तो लुगाको सहज अवस्था त्यति बेला थिएन । जाडो मौसममा मानिस चाकु प्रयोग गरेरै शरीर तातो बनाउँथे,” उनले भनिन् ।

नेवार समुदायमा बिहे गरेर गएकी छोरीलाई घर बोलाएर घरपरिवारसँग यो पर्व मनाइने गरिन्छ । वज्राचार्यले थपिन्, “आमाको हातबाट टाउकोमा तेल लगाइन्छ । त्यसो गर्दा टाउको कहिल्यै पनि नदुख्ने मान्यता रहिआएको छ ।”

टोखाका चाकु उत्पादक राजकुमार श्रेष्ठलाई माघे सङ्क्रान्तिका लागि चाकुको माग धान्न भ्याइनभ्याइ छ । उनी भन्छन्, “चाकु बनाउ १५ दिन अघिबाटै व्यस्त हुनुपर्छ ।” श्रेष्ठका अनुसार पहिले साधारण चाकुको मात्रै माग थियो । अहिले मसलादार र ‘स्पेसल’ चाकुको माग बढेको छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । विशेषमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ । यसले सामान्यभन्दा विशेष चाकुको मूल्य अलि महँगो हुने श्रेष्ठले जानकारी दिए ।

यता पोषणविद् डा. अरुणा उप्रेतीले चाकु खाँदा शरीरमा धेरै फाइदा हुनुका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने जानकारी दिइन् । बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउनुपर्ने उनको सुझाव छ ।

अन्य समुदायमा पनि माघे सङ्क्रान्ति आआफ्नै ढङ्गले मनाइन्छ । भक्तपुरका बौद्ध धर्मावलम्बीले यस दिन पञ्चबुद्ध जात्रा निकालेर चाकु दान गर्ने चलन रहेको खबर गोरखापत्र दैनिकमा छ । त्यस्तै थारू समुदायले ‘माघी’ भनेर मनाउँछन् । बाहुन तथा क्षत्रीले तिलको लड्डुका साथै विभिन्न खाले तरुल र खिचडी खाएर मनाउने गर्छन् ।

यसरी बन्छ चाकु
व्यवसायी श्रेष्ठका अनुसार कसौंडी आकारको तामाको भाँडामा सक्खर-पानी उमाल्ने र बाक्लो भएपछि त्यसलाई भाँडोमा खन्याउने । चिसो हुन थालेपछि ढुंगाले कुट्नुपर्छ । त्यसपछि यो दह्रो भएर चाकुजस्तै आकारमा आइसकेको हुन्छ । त्यसपछि एउटा खम्बामा झुन्ड्याइएको किलामा अड्याएर सरसर तानिन्छ ।