१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

क्रिकेट रंगशाला बनाउन महायज्ञ लगाउँदै धुर्मुस


२८ पुस, चितवन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन आगामी माघ १९ देखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रंगशाला निर्माणाधीन छ ।

महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट ५० करोड संकलन गर्ने लक्ष्य रहेको समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए ।


मूल वाचकका रुपमा पण्डित दिनबन्धु पोख्रेल रहनेछन् । रंगशाला निर्माणस्थलमै महायज्ञ लगाइँदै छ । पछिल्लो समय रंगशाला निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ । सहयोग जुट्ने क्रमसमेत निरन्तररुपमा अघि बढेको छ ।

धुर्मस-सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए । मैदान निर्माणका लागि अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ ।

रंगशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए । रंगशालामा नमुना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेल मैदानमा खेल भएका हुन् । रंगशाला सम्पन्न हुँदै गर्दा सो ठाउँ पार्किङ हुनेछ ।

रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्सांकन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएको छ । रंगशाला सम्पन्न गर्न २ अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ । –रासस

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०९:३७