Logo

यसपटक तारुकामा २१ हल गोरु जुधाइने



२८ पुस, विदुर । नुवाकोटको तारुकामा यसपटकको माघेसंक्रान्तिका दिन २१ हल गोरु जुधाइने भएको छ । माघे संक्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउन सबैसँग सहयोगको अपिल गरेका छन् ।

तारकेश्वर गाउँपालिका ३, चन्दनीमामा माघ १ गते हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ । विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ देखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि अहिले मेलाको स्वरुप ग्रहण गरेको छ ।

नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ । –रासस

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०८:५९
प्रतिक्रिया दिनुहोस्