१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

ग्यास प्लान्ट निर्माण गर्दै निगम


२७ पुस, काठमाडौं एलपी ग्यासको भण्डारण क्षमता विस्तार तथा आफ्नै लोगोमा ग्यास उत्पादन सुरु गर्न नेपाल आयल निगमले ग्यास ‘बोटलिङ, रिफिलिङ प्लान्ट’ र भण्डारण गृह निर्माण गर्ने भएको छ । यसका लागि निगमले आशयपत्र माग गरिसकेको छ ।

नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतले आगामी दिनमा मुलुकमा एलपी ग्यास अभाव हुन नदिने बताए । उनका अनुसार, निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर बिक्री वितरण गर्ने उद्देश्यसहित झापाको चारआली र धनुषाको महेन्द्रनगरमा ग्यास ‘बोटलिङ तथा रिफिलिङ प्लान्ट’ निर्माण प्रक्रिया सुरु गरेको छ ।

यो कारखाना परिसरमा ग्यास बुलेट भर्ने र झार्ने व्यवस्था समेतको पूर्वाधार निर्माण गरिनेछ । झापामा २९ बिघा र जनकपुरमा १० बिघा जग्गा निगमको स्वामित्वमा रहेको खबर गोरखापत्र दैनिकमा छ ।

झापा र जनकपुरमा तीन-तीन हजार टन क्षमताका ग्यास भण्डारण गृह निर्माण गर्ने योजना निगमको छ । अहिले निगमसँग ग्यास भण्डारण गृह छैन । उनले निगमको ५०औँ वार्षिकोत्सवमा बिक्री वितरण गर्ने ग्यासको लोगो सार्वजनिक गर्ने जानकारीसमेत दिए । खुला अर्थतन्त्रमा निगमले आफ्नै ब्रान्डमा ग्यास सिलिन्डर उत्पादन गरी प्रतिस्पर्धा र बिक्री वितरण गर्नेछ, एलपी ग्यासमा अब राज्यको आफ्नै उपस्थिति हुनेछ ।

खुला अर्थतन्त्रको नीति अनुसार खाना पकाउने ग्यासको उत्पादन, ब्रान्डिङ र बजारीकरणमा सरकारी स्वामित्वको ‘एनओसी ब्रान्ड’ मा बजारमा ग्यास सिलिन्डर आउनेछ ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०८:०७