१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

२७ पुस, काठमाडौं माघेसंक्रान्तिमा उपयोग हुने कन्दमूलका लागि नेपालीले भारतकै भर पर्नुपरेको छ । विशेष गरL माघेसंक्रान्तिमा विभिन्न कन्दमूल खाने परम्परा छ ।

माघेसंक्रान्तिमा तरुल, सखरखण्ड, वन तरुललगायत कन्दमूल खाने नेपाली परम्परा छ । नेपाल कृषि प्रदान देश भए पनि यस्ता विभिन्न कन्दमूल नेपालमा पर्याप्त उत्पादन गर्न नसक्दा भारतकै भर पर्नुपरेको खबर राजधानी दैनिकमा छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आव ०७६/७७ को ५ महिनामा मात्र भारतबाट ४७ लाख १४ हजार रुपैयाँ बराबरको सखरखण्ड आयात भएको छ ।

कालीमाटी तरकारी तथा फलफूल थोक बजार संघका अध्यक्ष भरत खतिवडाले सखरखण्ड नेपाली बजारको मागअनुसार उत्पादन नहुँदा व्यापारीहरूले बाध्य भएर आयात गर्नुपर्ने बताए । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा माघेसंक्रान्तिका लागि मात्र भारतबाट व्यापारीहरूले ५० टन सखरखण्ड आयात गर्ने गरेको खतिवडाले बताए । उनका अनुसार भारतबाट आयात गरेको सखरखण्ड प्रतिकिलो ५० रुपैयाँमा खरिद हुने गरेको छ । सो हिसाबले माघेसंक्रान्तिमा व्यापारीले करिब २५ लाख रुपैयाँको आयात सखरखण्ड आयात गर्ने गरेका छन् ।

संघका अध्यक्ष खतिवडाले बजारको मागअनुसार उत्पादन गर्न नसक्दा कन्दमूलका लागि भारतको भर पर्नुपरेको बताए । माघेसंक्रान्तिमा प्रयोग हुने कन्दमूल नेपालमा पर्याप्त उत्पादन हुन नसक्दा कन्दमूलकै लागि वार्षिक लाखौं रुपैयाँ बाहिरिने गरेको खतिवडाको भनाइ छ ।

यसैगरी यस वर्ष स्वदेशीमा उत्पादन हुने तरुल गत वर्षको भन्दा कम हुँदा गत वर्षको तुलना तरुलमा १० देखि १५ प्रतिशत महँगो हुने खतिवडाको भनाइ छ । खतिवडाले सबैभन्दा धेरै महँगो स्वदेशी वन तरुल रहेको हुने बताए । स्वदेशी वन तरुल प्रतिकेजी ४ सयदेखि ५ सय पर्ने बताए ।

विगतका वर्षमा तरुलसमेत भारतबाट आयात हुने गरेको थियो । हाल नेपालको उत्पादन बढ्दा पछिल्लो समय भारतबाट तरुल आयात भने रोकिएको उनले बताए । कालीमाटी फलफूल तथा तरकारी विकास समिति प्रवक्ता विनय श्रेष्ठले माघेसंक्रान्तिमा भारतबाट सखरखण्ड मात्र आउने गरेको बताए ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०७:५२