१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

भारतीय मालवाहक सवारीलाई रोक लगाउन माग !


२७ पुस, विराटनगर । भारतीय नम्बरका मालवाहक सवारीलाई नेपाल प्रवेशमा रोक लगाउन ट्रक व्यवसायीले माग गरेका छन् । विराटनगर ट्रक व्यवसायी संघको २९औँ साधारण सभा तथा १५औँ अधिवेशनका अवसरमा शनिबार विराटनगरमा व्यवसायीले भारतीय मालवाहक सवारीलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा रोक लगाउनुपर्ने माग गरेका हुन् ।

भारतबाट मालवस्तु लिएर भन्सार सीमा क्षेत्रसम्म आएका मालवाहक सवारी नेपालमा मनपरी ढङ्गले सञ्चालनमा आउँदा नेपालीको रोजगारी खोसिएको भन्दै तत्काल रोक लगाउन माग गरिएको खबर गोरखापत्र दैनिकमा छ ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले नेपालमा ६५ हजार मालवाहक सवारी रहेकाले भारतीय मालवाहकलाई प्रवेशमा रोक लगाउनुपर्ने बताए । उनले भारतीय मालवाहक सवारीलाई बिनाअवरोध प्रवेश गर्न दिँदा राज्यको सडक संरचनामा समेत ठूलो क्षति भएको दाबी गरे ।

नेपालको सडक भारवहन क्षमताभन्दा धेरै वजन बोकेर आउने भारतीय मालवाहकले नेपाली सवारीको आवागमनमा अतिक्रमण गरिरहेको उनको तर्क थियो । सरकारलाई एकद्वार प्रणालीबाट अग्रिम कर भुक्तानी गर्न व्यवसायी तयार रहेको बताउँदै उनले देशैभरिका सरकारले लगाउने कर हटाउनुपर्ने मागसमेत गरे ।

सरकारले निर्धारण गरेको ढुवानीको दरभन्दा कम मूल्यमै नेपालका ट्रक व्यवसायीले ढुवानी गरिरहेको बताउँदै उनले पछिल्लोपटक मूल्य अभिवृद्धि कर (भ्याट) र भीसीटीएस प्रणालीको नियमले आतंकित हुनुपरेको बताए ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार ०७:३२