१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

पुनर्निर्माणको काम चाँडो सक्न निर्देशन


२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाको कार्यप्रगति सन्तोषजनक रूपमा आगाडि बढेको बताएका छन् । ओलीले राष्ट्रिय पुनर्निर्माण परामर्श परिषद्को पाँचौँ बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुँदै पुरातात्विक महत्त्वका सम्पदा पुनर्निर्माण सानो सङ्ख्यामा भए पनि जटिल र अप्ठ्यारो भएको बताए ।

उनले भने, “निजी आवासको काम व्यापक छरिएको र फैलिएको भए पनि अलि सजिलो छ, पुरातात्विक महत्त्वका सम्पदाको तुलनामा पुनर्निर्माणमा प्रयोग हुने वस्तु, सीप, ज्ञान र ऐतिहासिकजस्ता विविध पक्षले जटिलता ल्याउँछ ।”

बैठकको अध्यक्षता गरेका ओलीले प्रस्तुत कार्यप्रगति विवरण र कार्ययोजना, सांसदले उठाएका प्रश्न र सुझावलाई संश्लेषण गर्दै प्राधिकरणलाई तीनवटा निर्देशन दिए । उनले पुनर्निर्माण र पुनर्स्थापनाको कार्यप्रगति सन्तोषजनक रहेको र बाँकी काममा देखापरेका समस्यालाई समाधान गर्दै द्रुत गतिमा पुनर्निर्माण कार्य अगाडि बढाउन प्राधिकरणलाई निर्देशन दिएको खबर गोरखापत्र दैनिकमा छ ।

बैठकमा सांसद अग्नि सापकोटाले पुरातात्विक महìवका सम्पदा, पुस्तकालय र अभिलेखहरूको संरक्षणमा समेत ध्यान दिन आग्रह गरे । यस्तै, सांसद यज्ञ सुनुवारले पुनर्निर्माण भएका विद्यालयमा खानेपानी र शौचालय निर्माणलाई पनि सँगसँगै लैजानुपर्ने बताए । यसैगरी सांसद पम्फा भुसालले पुस्तौँदेखि गुठीको जग्गामा बसेका तर गुठी संस्थानमा दर्ता नभएका लाभग्राहीको समस्या समाधानका लागि स्थलगत रूपमा एकीकृत कार्यदल पठाउन आग्रह गरिन् ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले अहिलेसम्म गरेको कार्यप्रगति र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले लाभग्राहीको गुनासो सुन्ने अधिकार स्थानीय तहलाई दिएपछि अझ समस्या जटिल बनेको बताए ।

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०६:५०