६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

लेबनानी बालबालिकालाई प्राथमिकता दिन यूनिसेफको आग्रह


२५ पुस, काठमाडाैँ । संयुक्त राष्ट्रसंघ, बाल कोष (युनिसेफ) ले लेबनानमा जारी आर्थिक सङ्कटकाबीचमा बालबालिकाहरूलाई प्राथमिकता दिन आग्रह गरेको लेबनानको राष्ट्रिय समाचार संस्थाले शुक्रवार जनाएको छ । युनिसेफले एक विज्ञप्ति जारी गरी भनेको छ, “लेबनानमा साना बालबालिकाहरूलाई आर्थिक सङ्कटको प्रभावबाट जोगाउन स्थानीय र अन्तर्राष्ट्रिय संस्था, नागरिक समाज, निजी क्षेत्र र विभिन्न समाजले कडा परिश्रम गर्नुपर्छ ।”

विशेषगरी गरीब परिवारमा बस्ने बालबालिकाहरू आर्थिक गिरावटका कारण व्यापक चुनौतीहरूको सामना गरेका विज्ञप्तिमा उल्लेख छ  गरिबीले बालबालिकाको आहार, शिक्षा तथा स्वास्थ्यमा नकारात्मक प्रभाब पार्नुका साथै उनीहरूको मनोभावना तथा भावात्मक तथा सामाजिक परिपक्वतालाई असर गर्ने यूनिसेफको भनाइ छ ।

लेबनानमा पछिल्लो तीन दशकदेखि कायम राजनीतिक अस्थिरताका कारण केही वर्ष यता चरम आर्थिक सङ्कट देखिएको र स्थानीय तथा बहुर्राष्ट्रिय कम्पनीहरूमा समेत यसको प्रभाव पर्दा श्रमिकहरूले ठूलो सङ्ख्यामा रोजगारी गुमाइरहेका छन् । यसले कतिपय परिवारले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत छोडेका वा सस्तो विद्यालयको खोजीमा अत्यधिक भार भएका सार्वजनिक विद्यालयमा भर्ना गर्ने क्रम बढेको छ ।

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार २२:३१