८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कांग्रेसको अर्को नौटंकी : असन्तुष्ट पक्षका जिल्ला सभापतिको जमघट काठमाडौंमा


२१ पुस, काठमाडौं । मुलुकको पुरानो पार्टी, मेलमिलापको पक्षधर । तर कहिल्यै मेल भएन बरु सधैंको बेमेल मात्र ।

विवादै-विवादमा जकडिएको नेपाली कांग्रेस केन्द्रैदेखि तल्लो तहसम्मै सधैंको मनमुटाब । अनि सधैंको जुँगाको लडाइँ । पछिल्लो समय कांग्रेसमा भएको नौटंकी गज्जबैले देख्न सकिन्छ । केन्द्रमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको जुहारी हेर्नै लायकको छ ।

आपसमा भइरहेको हिलो छ्यापाछ्याप अहिले जिल्ला तहसम्मै पुगेको छ । कांग्रेस केन्द्रीय समितिले गरेका निर्णयमा जिल्ला सभापतिहरु पनि दुई ध्रुवमा बाँडिएका छन् । केन्द्रको विवाद कायमै रहेका बेला कांग्रेसका जिल्ला सभापतिहरु काठमाडौंमा भेला हुन लागेका छन् । त्यो पनि असन्तुष्ट पक्षधर । यानि देउवाइतरका । कांग्रेस जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालयमा भेला भई विवादको समाधानका लागि पहल गर्ने भनिए पनि भेला हुनेहरु सबै पौडेल पक्षधर भएको बुझिएको छ ।

फाइल तस्बिर ।

पछिल्लो समय महाधिवेशन मिति, विभागहरुको गठनलगायतमा पार्टीभित्र विवाद बढेपछि केन्द्रीय समिति बैठक बहिष्कारसम्म पुगेका वरिष्ठ नेता पौडेल समूहले छलफलका लागि जिल्ला सभापतिहरुलाई बोलाएको स्रोतको दाबी छ । महामन्त्री शशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला समूह पनि जिल्ला सभापतिहरुको भेलामा सहभागी हुने सम्भावना छ ।

तर यो भेलामा सभापति देउवा र उनका पक्षधर केन्द्रीय नेताहरु भने सहभागी नहुने लगभक निश्चित छ ।

एक नेताका अनुसार पार्टी विधानका केही धारा निलम्बन गरिएको, महाधिवेशनको मिति र विभागका विषयमा छलफल हुनेछ । उनले केन्द्रीय समितिबाट भएको एकलौटी निर्णयविरुद्ध तलसम्म जाने रणनीतिअनुरुप जिल्ला सभापतिहरुसँग पहिलो चरणमा छलफल हुने बताए ।

यता अर्को रमाइलो पक्ष के छ भने सबै जिल्ला सभापतिलाई काठमाडौं बोलाइएको भनिए पनि देउवा पक्षधर जिल्ला सभापतिहरुले भने आफूलाई खबरै नआएको भन्दै आएका छैनन् । हेरौं कांग्रेसको खिचडी कहिलेसम्म पाक्ला र सभापति देउवाको निरंकुश शैली कहिलेसम्म चल्ला यो त समयले नै देखाउला ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०९:१४