८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

कथा नेपाललाई चार लाखका दरले चन्दा दिन बाणिज्य बैंकहरूलाई बैंकर्स संघको उर्दी


२० पुस, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाम दुरूपयोग गरेर समृद्धिको यात्रामा लम्किरहेको आरोप लागेको कथा नेपाल प्रा. लि.लाई बाणिज्य बैंकहरूले दामासाहीले चार लाखका दरले चन्दा दिनुपर्ने भएको छ । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)हरूको संस्था बैंकर्स संघले निर्णय नै गरी बैंकहरूबाट चार लाखका दरले चन्दा उठाउन लागेको हो । एक व्यक्ति एक बैंक खाता भन्ने सरकारी अभियान प्रचारका नाममा बैंकहरूबाट चन्दा उठाउन लागिएको हो ।

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई इमेल मार्फत फर्मान जारी गर्दै चार लाखका दरले कथा नेपाल प्रा.लि.लाई पैसा दिन अनुरोध गरेका छन । बैंकहरुले वितरण गर्ने संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसाको केही अंश सो संस्थामार्फत खर्च गर्न भन्दै फर्मान जारी भएपछि प्रमुख कार्यकारी अधिकृतहरू तनावमा परेका छन । संस्थागत सामाजिक उत्तरदायित्वको पैसा बैंकहरू आफैँले निर्णय गरेर हरेक वर्ष वार्षिकोत्सबमा दिने गरेका छन । तर त्यस्तो पवित्र उद्देश्यको कोषबाट सरकारी अभियान प्रवर्द्धनका नाममा बैंकबाट चन्दा उठाउने निर्णय भएपछि केही प्रमुख कार्यकारी अधिकृत अफ्ठेरोमा परेका छन ।

बैंकहरूलाइ पठाइएको पत्र ।

बैंकर्स संघले सरकारी दबाबमा कागजी प्रक्रिया पूरा गरेर कथा नेपालका लागि चन्दा उठाउने काम सुरू गरेको पाइएको छ । संघले गुपचुप रूपमा तीन वटा संस्थालाई टेण्ड प्रक्रियामा सहभागी गराएर कथा नेपाललाई पैसा दिने निर्णय गरेको भए पनि यो नीतिगत भ्रष्टाचार भएको र संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने रकम सरकारी दबाबमा दुरूपयोग हुन लागेको भन्दै केही बैंकका कर्मचारीले मिलेर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । उनीहरूले आयोगमा दिएको उजुरीको बोधार्थ प्रधानमन्त्री कार्यालय लगायत अन्य निकायमा पनि दिएका छन ।

यसअघि जनतासँग प्रधानमन्त्री कार्यक्रम देखाएर सिंहदरबार भित्रै विप्लव समूहको शैलीमा चन्दा उठाएको भन्दै कथा नेपालको चर्को आलोचना भएको थियो । कथा नेपालका मनोज पाण्डेलाइ प्रधानमन्त्रीको सचिवालयमा विज्ञको रूपमा नियुक्ति दिएर व्यापारको समेत लाइसेन्स दिएको भन्दै प्रधानमन्त्री निकटका केही नेताले जानकारी पाएपछि उनको कार्यक्रम बन्द हुन पुगेको थियो । कथा नेपालले पछिल्लो समय सञ्चालनमा ल्याएको युटुव च्यानलको प्रधानमन्त्री केपी शर्मा ओलीले नै ढोकामा रिवन काटेर उद्घाटन गरी अहिलेसम्मकै एक्सक्लुसिभ अन्तरवार्ता दिएका थिए ।

अख्तियारमा परेको उजुरी ।

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०९:४३